नेपाल आर्मी र जेनजी समूहबीचको वार्ता आज हुँदैछ । जेनजी समूहले आफ्नो आधिकारिक वार्ता समूह नबनाएपछि सेनासँगको वार्तामा केही ढिलाइ भएको हो । अहिले पनि वार्ताको प्रयास जारी रहेको र जेनजी समूहबीच समन्वयको काम जारी रहेको बताइएको छ ।
यसअघि हिजो बुधबार भएको वार्ता निर्णायक भएको थिएन । बुधबार साँझ जंगी अड्डामै जेनजीबीच विवाद भएपछिको वार्ता निष्कर्षविहीन भएको हो ।
विवादहुँदा नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा आउन आग्रह गरेको थियो । साँझ जंगी अड्डा परिसरमा नेपाली सेनाले माइकिङ गर्दै समान धारणा बनाएर बिहान आउन भनको थियो । माइकिङमा सेनाले भनेको थियो, ‘को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला । एक–एक जना ग्रुप लिडरको नामसहित लेखेर हामीलाई दिनुहोला ।’
सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै जेनजीहरूले जंग्गीअड्डाबाहिर नाराबाजी गरेका थिए ।
जेनजीहरुले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सारेका छन् भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई समर्थन गरेको बताएका छन् । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन समर्थन रहेको बताएका थिए ।
प्रकाशित: २६ भाद्र २०८२ ११:४२ बिहीबार



