नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र उठेको नेतृत्व परिवर्तनको विषय महाधिवेशनको हलमा पुगेपछि समाधान हुने टिप्पणी गरेका छन्। बुधबार पार्टीको स्थायी कमिटी बैठकपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
बैठकपछि गाडी चढिरहेका दाहाललाई पत्रकारले नेतृत्वको परिवर्तनको कुरा उठिरहेको छ नि? भनेर सोधेका थिए। जसको जवाफमा उनले भने, ‘त्यो पनि छलफल भइरहेको छ। महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ ।’
जेन–जी आन्दोलनपछि शीर्ष नेताहरूलाई नेतृत्वबाट बिदा लिनुपर्ने चर्को दबाब छ। जसको प्रभाव माओवादी केन्द्रका अध्यक्ष दाहालमाथि पनि छ। यही कारण उनले पार्टीको पदाधिकारी बैठकमा पार्टीका सबै कमिटी भंग गरेर मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए।
त्यसका लागि महाधिवेशन आयोजक कमिटी बनाएर जाने प्रस्ताव राखेका थिए। महाधिवेशन आयोजक कमिटीको संयोजक भने आफै हुने पनि उनको प्रस्ताव छ। सोही प्रस्तावमाथि छलफल गर्न बुधबार स्थायी कमिटी र बिहीबार केन्द्रीय समिति बैठक बस्ने तय भएको थियो। बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकले अब अन्तिम निर्णय गर्ने छ।
प्रकाशित: ८ आश्विन २०८२ १६:१३ बुधबार