राजनीति

सिंगो देश दुख्दा शोक मात्र, जल्दा सार्वजनिक बिदा

सरकारले यही भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीमा ज्यान गुमाएकाको स्मृतिमा २२ गते राष्ट्रिय शोक मनाउने भएको छ। त्यस दिन बाढीमा ज्यान गुमाउनेको १३ दिन हुन्छ। राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

यसैगरी मन्त्रिपरिषद्ले भदौ २३ गते ‘जेनजी सहिद दिवस’का अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारले बाढीको कहरमा सिंगो देश दुख्दा राष्ट्रिय शोक दिवस मनाउने तर जेनजी सहिद दिवसका नाममा राष्ट्रिय बिदा दिने भनी गरेको निर्णयको आलोचना भएको छ।

बाढी प्राकृतिक विपद् हो। यसबाट सिंगो देश दुखेको छ। जेनजी विद्रोह राजनीतिक घटना हो। यो विद्रोहका क्रममा प्रदर्शनकारीमाथि राज्यबाट हिंसा गरिएको थियो भने विद्रोहीका नाममा देशका धरोहरमा आगो लगाएर ध्वंस मच्चाइएको थियो।

गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी विद्रोहबाट तत्कालीन सरकार अपदस्थ भएको थियो। नयाँ जनादेशका लागि अन्तरिम सरकार गठन र तत्कालीन प्रतिनिधिसभा विघटन गरिएको थियो। गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना दल पराजित भए भने वैकल्पिक शक्तिका रूपमा राजनीतिमा आएको छोटो समयमै रास्वपा दुई तिहाइनजिक अर्थात् २७५ सिटमा १८२ सिट जितेर सत्तामा पुगेको हो।

बाढीमा ज्यान गुमाउनेको संख्या १२५९

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार साँझ ७ बजेसम्म बाढीमा परी ज्यान गुमाउनेको संख्या १२ सय ५९ पुगेको जनाएको छ। प्राप्त शवका आधारमा यो संख्या निकालिएको हो। प्राप्त शवमध्ये ९५ वटाको सनाखत भइसकेको छ। बाढीपछि पाँच हजार ८३ जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।

सम्पर्कविहीनमा ५८३ विदेशी छन्। पाँच हजार ३८४ घाइतेको उपचार भइरहेको छ। केही घाइते अस्पतालबाट डिस्चार्ज भएका छन्। बाढीमा फसेका १२ हजार ३८ जनालाई उद्धार गरिएको प्राधिकरणको विवरणमा लेखिएको छ।

प्रकाशित: १९ भाद्र २०८३ ०६:२३ शुक्रबार