पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देश वा आन्दोलन अप्ठ्यारो पर्दा महिलाहरूको भूमिका अग्र भागमा हुने बताएकी छन् ।
‘भूमिगत महिला’ नामक पुस्तक चर्चा कार्यक्रममा भण्डारीले राष्ट्र र आन्दोलन अप्ठ्यारो परेको बेला महिलाहरूको भूमिका प्रमुख हुने हुँदा यसका लागि महिलाहरु तयार हुनुपर्ने बताइन् ।
‘राष्ट्र र आन्दोलन अप्ठ्यारो परेको बेला महिलाहरूको भूमिका देशले खोजिराखेको हुन्छ, तपाईँहरूले पनि त्यो ढङ्गले आफ्नो भूमिका बढाउनुभयो भने राम्रो हुन्छ भन्ने मेरो आफ्नो अनुभव भन्छ । असजिलो भएको बेलामा जहिले पनि आन्दोलनको अग्रमोर्चामा महिलाहरू जानैपर्ने हुन्छ,’ उनले भनिन् ।
२०६२/०६३ को जनआन्दोलनको प्रसङ्ग स्मरण गर्दै महिलाको सहभागिता बढाउन निरन्तर पहल गरिएको बताइन् । तत्कालीन राजनीतिक परिस्थितिमा पार्टीहरूलाई महिलाको कम्तिमा एक तिहाइ सहभागिता सुनिश्चित गर्न दबाब दिइएको र त्यसपछि आन्दोलन देशव्यापी जनआन्दोलनका रूपमा सफल बनेको उनले बताइन् ।
लोकतन्त्र, मौलिक हक र स्वतन्त्रताको रक्षा गर्न पनि महिलासहित सबैको सक्रिय भूमिका आवश्यक रहेको जोड दिइन् ।
उनले भनिन्, ‘अहिले पनि परिस्थिति केही बदलिएको छ । सिनियर राजनीतिक दलहरूबीचको भूमिकाबारे सोचनीय स्थिति बनाएको छ । यहाँ उपस्थित धेरैजसो ठूलो पार्टीसँग आबद्ध हुनुहुन्छ, नेकपा एमालेसँग सम्बन्धित नेता र कार्यकर्ता पनि हुनुहुन्छ । यस्तो अवस्थामा हामी सबै एकताबद्ध भएर अगाडि बढ्न जरुरी छ ।’
प्रकाशित: ३ वैशाख २०८३ १४:३६ बिहीबार