राजनीति

कांग्रेस भ्रातृ संगठनका महाधिवेशन कहिले ?

नेपाली कांग्रेसका प्रमुख भ्रातृ संगठनहरूको महाधिवेशन अझै सुनिश्चित हुन सकेको छैन। माउ पार्टी कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघसहितका संगठनको म्याद पटक–पटक थप गर्दै आए पनि महाधिवेशन हुन सकेको छैन। 

समय गुजारेका भ्रातृ संगठनका महाधिवेशन गराउन भन्दै पार्टीले नै निर्देशन समिति गठन गरेको छ तर त्यसले महाधिवेशन गराउने स्पष्ट खाका र नीति बनाउन सकेको छैन। पार्टी केन्द्रीय समितिको निर्णय र निर्देशनअनुसार सोमबार पनि पार्टी पदाधिकारी र निर्देशन समिति तथा संगठनका अध्यक्षहरूसहितको छलफल भएको थियो। 

तर महाधिवेशनका लागि ठोस निर्णयमा पार्टी र समिति पुग्न सकेको छैन। गत २०८१ चैत मसान्तभित्र सबै भ्रातृ संस्थाको अधिवेशन सम्पन्न गराउन मंसिर २६ गतेको कांग्रेस केन्द्रीय समितिले पार्टी नेताहरू सम्मिलित निर्देशन समिति बनाएको थियो। 

जसअनुसार तरुण दलमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय, दलित संघमा सहमहामन्त्री जीवन परियार, नेविसंघमा सहमहामन्त्री किशोर सिंह राठोर, महिला संघमा प्रकाशशरण महत, किसान संघमा रमेश रिजाल, भूतपूर्व सैनिक संघमा एनपी साउद, लोकतान्त्रिक खेलकुद संघमा मोहनबहादुर बस्नेत, अपांगता संघमा मधु आचार्य, थारू संघमा उदयशमशेर राणा र प्रजातान्त्रिक सेनानी संघमा गोविन्द पोखरेलको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन भएका छन्। ती समितिहरूले भ्रातृ संगठनका अधिवेशन गराउने प्रयास गरे पनि अझै सफलता हात पार्न सकेका छैनन्। 

यसले गर्दा नेविसंघले २०७३, नेपाल तरुण दलले २०७२, नेपाल महिला संघले २०७३ र नेपाल दलित संघले २०६९ पछि महाधिवेशन गरेका छैनन्। त्यस्तै २०६४ मंसिरमा गठन भएको नेपाल किसान महासंघले अहिलेसम्म पनि अधिवेशन गर्न सकेको छैन। 

नेपाल थारू संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघको पनि स्थापनाकालदेखि नै महाधिवेशन भएको छैन। कांग्रेसका १३ भ्रातृ संस्था, २६ शुभेच्छुक र ३७ वटा विदेशस्थित जनसम्पर्क समिति छन्। कांग्रेसका भ्रातृ संस्था मात्रै होइन, गुट विवादले पार्टीकै १५औं महाधिवेशन समिति अझै सुनिश्चित हुन सकेको छैन।

प्रकाशित: २७ श्रावण २०८२ ०७:०७ मंगलबार