पूर्वाधार विकास समितिका सभापति एवं रास्वपा सांसद आशिष गजुरेलले संसद्मा देशका जनजीविका र विकाससँग जोडिएका विभिन्न समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
संसदमा बोल्दै सिन्धुलीबाट निर्वाचित सांसद गजुरेलले आफू सिन्धुलीका स्थानीय समस्याभन्दा राष्ट्रिय विषयमा बढी बोल्ने गरेको गुनासो नागरिकबाट आउने गरेको बताए। सिंहदरबार आउँदा बाटोमै देखिने तथा देशभरका नागरिकले भोगिरहेका समस्याले आफ्नो प्राथमिकता फेरिने गरेको उनको भनाइ थियो।
उनले नेपाल एयरलाइन्सका जहाज लामो समयसम्म ग्राउन्डेड हुनु, पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा अपेक्षित रूपमा सञ्चालन हुन नसक्नु तथा सर्वसाधारणले खाना पकाउने ग्याससमेत सहज रूपमा पाउन नसक्ने अवस्थालाई गम्भीर विषयका रूपमा उठाए।
त्यस्तै, बन्द उद्योग सञ्चालनमा ल्याउन नसकिएको, वैदेशिक रोजगारीमा रहेका नेपालीले विभिन्न समस्या भोग्नुपरेको तथा बीपी राजमार्ग र कृष्णभीर क्षेत्रमा पटक–पटक हुने पहिरोका कारण यात्रुले सास्ती व्यहोर्नुपरेको उनले बताए।
कर्णाली राजमार्गमा भइरहेका सडक दुर्घटना, सार्वजनिक यातायातमा यात्रुले भोग्नुपरेको समस्या तथा आर्थिक अभावका कारण उपचार नपाएर सर्वसाधारणले ज्यान गुमाउनुपर्ने अवस्थाप्रति समेत गजुरेलले सरकारको ध्यानाकर्षण गराए।
सांसद गजुरेलले देशमा जनजीविका र विकाससँग सम्बन्धित यस्ता समस्या धेरै रहेको भन्दै समस्यालाई प्राथमिकताका आधारमा वर्गीकरण गरेर दीर्घकालीन समाधानतर्फ सरकारले ठोस कदम चाल्नुपर्ने बताए।
उनले संसदमार्फत सरकारलाई जनताका दैनिक समस्या र विकाससँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखेर समाधानको दिशामा अघि बढ्न आग्रह गरे।
प्रकाशित: १२ आश्विन २०८३ १६:३० सोमबार