राजनीति

गृहमन्त्री गुरुङ सुनसरी पुगेर के–के गर्छन् ?

सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिको स्थलगत समीक्षा गर्न गृहमन्त्री सुधन गुरुङ बिहीबार सुनसरी जाँदैछन्। प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेपछि उनी घटनास्थलतर्फ प्रस्थान गर्न लागेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गृहमन्त्री गुरुङले सुनसरी पुगेपछि साउन १० गते भएको झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता र उपचारका क्रममा बिहीबार मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्ने कार्यक्रम छ। भेटका क्रममा उनले शोकाकुल परिवारलाई समवेदना व्यक्त गर्नुका साथै सरकारका तर्फबाट आवश्यक सहयोगबारे जानकारी गराउनेछन्।

गृहमन्त्रीले घटनास्थल देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज पुगेर स्थानीय जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायका अधिकारीसँग छलफल गर्दै शान्ति–सुरक्षा अवस्थाको समीक्षा गर्नेछन्। घटनापछि विकसित परिस्थितिबारे जानकारी लिँदै सामाजिक सद्भाव कायम गर्ने उपाय र आगामी सुरक्षा रणनीतिबारे पनि आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार गृहमन्त्रीसँगै स्वास्थ्य मन्त्री निशा मेहता पनि सुनसरी जानेछिन्। सुनसरी स्वास्थ्य मन्त्री मेहताको गृहजिल्ला हो।

यसअघि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री गुरुङबीच तराईका पछिल्ला घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिबारे विस्तृत छलफल भएको थियो। सोही छलफलपछि सरकारको तर्फबाट स्थलगत अनुगमन, पीडित परिवारसँग भेटघाट र स्थानीय प्रशासनसँग समन्वयका लागि गृहमन्त्री सुनसरी जान लागेका हुन्।

प्रकाशित: १४ श्रावण २०८३ १८:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App