राजनीति

‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेमाथि लगाइएको सहकारी ठगीको मुद्दा राजनीतिक प्रतिशोध भएको बताएकी छन्।

संसदीय छानबिन समितिको प्रतिवेदनले नै सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नता नदेखाएको जिकिर गर्दै उनले सत्ता र शक्तिको दुरुपयोग गरी मुद्दा चलाइएको बताइन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गौतमले हस्ताक्षर अभियान रवि लामिछानेलाई छुटाउन नभई रविमाथि भएको अन्यायविरुद्ध जनएकता प्रदर्शन गर्नका लागि भएको स्पष्ट पारिन्।

‘हामीलाई सोध्नुहुन्छ, हस्ताक्षर गरेर रवि छुट्छ र ? छुटाउने-नछुटाउने त तालाचाबी सब तपाईँहरुसँग छ,’ सत्तापक्षलाई लक्षित गर्दै उनले भनिन्, ‘तर जनताले रवि लामिछानेलाई अन्याय भयो भनेर मेरो एउटा हस्ताक्षर गर्छु भन्दा तपाईँहरूलाई केको आपत्ति ?’ 

उनले सहकारी ठगी प्रकरणमा बनेको संसदीय छानबिन समितिको प्रतिवेदनलाई उद्धृत गर्दै लामिछानेलाई नियोजित रूपमा फसाइएको दाबी गरिन्।

‘सहकारीको छानबिन समितिको प्रतिवेदनको पृष्ठ ४४९ मा सहकारीको पैसा अपचलनमा रवि लामिछानेको संलग्नता देखिएन भनेर प्रष्ट लेखिएको छ,’ गौतमले प्रश्न गरिन्, ‘त्यसो हो भने सहकारी ठगीको मुद्दा प्रतिशोध हो कि होइन ?’ 

उनले थपिन, ‘कानुनको दुरुपयोग गरेर, सत्ताको तालाचाबी आफ्नो हातमा राखेर सहकारी ठगीको मुद्दा लगाइएको छ। यो आजको यथार्थ हो, यो तपाईंहरूले मनन गर्नुहोस्।’ 

सांसद गौतमले रास्वपाको उदय र उसका सांसदहरूको दमदार प्रस्तुतिले पुराना दलहरू अत्तालिएको समेत बताइन्। ‘यो परिस्थिति रास्वपाको उदय भएर हो। यसलाई सिध्याउनका लागि तपाईंहरू लाग्नुहोस्, तर अबको चौरासी रास्वपाले नेतृत्व गर्ने हो,’ उनले भनिन्।

प्रकाशित: २८ असार २०८२ १७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App