ढिलै भए पनि धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । आन्तरिक विवादका कारण मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघासहितका जनप्रतिनिधिसँग कुरा बाझिँदा नीति तथा कार्यक्रम र बजेट प्रभावित भएको थियो ।
शनिबार १७औँ नगरसभामा धरानका उपप्रमुख बेघाले आर्थिक २०८२/८३ का लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गरे ।
बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार रुपैयाँ, सङ्घीय सरकारबाट अनुदान ८९ करोड २९ लाख रुपैयाँ, प्रदेश सरकारबाट अनुदान सात करोड ७३ लाख ४४ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ३४ करोड १८ लाख ५० हजार रुपैयाँ, सडक बोर्डबाट दुई करोड र गत वर्षको मौज्दातबाट सात करोड प्राप्त हुने अनुमान गरिएको छ ।
शहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ६६ करोड ९४ लाख रुपैयाँ, शिक्षा, युवा तथा खेलकुदतर्फ ४६ करोड ८५ लाख रुपैयाँ, स्वास्थ्यतर्फ छ करोड ९९ लाख ९५ हजार रुपैयाँ, सामाजिक विकासतर्फ चार करोड ८६ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
साथै आर्थिक विकासतर्फ एक करोड २९ लाख, वन वातवरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ दुई करोड ७४ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनतर्फ २० लाख, सार्वजानिक जग्गा संरक्षणतर्फ १५ लाख, राजस्व परिचालनतर्फ ४३ लाख र नगर भिजन कार्यक्रमतर्फ पाँच करोड पाँच लाख विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षका लागि धरानका २० वटा वडालाई २१ करोड विनियोजन गरेको छ ।
त्यसैगरी नगर कार्यपालिकातर्फ नि:सर्त विनियोजन र एक अर्ब ३१ करोड ९२ लाख ८२ हजार, सशर्त अनुदानबाट ६० करोड ५६ लाख ७७ हजार, समपूरक बजेटबाट एक करोड ८२ लाख र विशेष अनुदानबाट पाँच करोड ४३ लाख विनियोजन गरिएको छ । नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको उपप्रमुख बेघाले बताए ।
प्रकाशित: ४ आश्विन २०८२ १७:१५ शनिबार