राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम थालेको छ ।
ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा सञ्चालन जारी अभिमुखीकरणमा नव निर्वाचित सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण, संसदको कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारीलगायत बारे प्रशिक्षण दिइनेछ ।
उद्घाटन सत्र
मंगलबार बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रमको उद्घाटन पार्टीका उपसभापति तथा संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद अर्याल (डिपी)ले गरेका छन् । प्रारम्भिक सत्रमा उपसभापतिद्वय अर्याल र स्वर्णिम वाग्लेले अभिमुखीकरणको उद्देश्य र तात्पर्यबारे जानकारी गराएका छन् ।
अभिमुखीकरणमा पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापतिद्वय, महामन्त्री कविन्द्र बुर्लाकोटी लगायत शीर्ष नेताहरू सहभागी हुने जनाइएको छ ।
पहिलो दिनको सत्र
पहिलो दिन विभिन्न सत्रहरूको सुरुमा मेघ आले, अनिल चित्रकारलगायतले समूह निर्माण गतिविधिको सत्र सञ्चालन गर्ने छन्।
त्यस्तै पार्टी उपसभापति स्वर्णिम वाग्लेले देशको वर्तमान अवस्था, पार्टीका प्रतिवद्धता, जिम्मेवारी तथा संसदमा सांसदको भूमिकाका विषयमा सहजीकरण गर्नेछन् ।
त्यस्तै नेपाल सरकारका पूर्व सचिव तथा संसद सचिवालयका सचिवसमेत रहेका सुरेश अधिकारीले संसदको संरचना तथा कार्यप्रणाली, सांसदका अधिकार र जिम्मेवारीका विषयमा नवनिर्वाचित सांसदलाई प्रशिक्षण गराउने छन् ।
पूर्वकानुन सचिव तोयानाथ अधिकारीले कानुन निर्माण प्रक्रियामा सांसदको भूमिकाका विषयमा प्रशिक्षण दिने कार्यसूची रास्वपाले तय गरेको छ ।
यस्तै, आईटी विज्ञ तथा विश्लेषक दोभान राईले कृत्रिम बुद्धिमत्ता र एल्गोरिदम, लोकतन्त्र, शक्ति सन्तुलन र सुशासनमा प्रभाव, संसद र नागरिकबीचको सम्बन्ध, डिजिटल युगमा प्रभावकारी सञ्चारका विषयमा प्रशिक्षण दिनेछिन् ।
संसदीय अनुभव र प्रस्तुतिका विषयमा अघिल्लो पटक संसदमा प्रतिनिधित्व गरेका आठ सांसदले १० मिनेटका दरले संसदीय अनुभव र प्रस्तुति प्रस्तुत गर्नेछन् । सांसदको यो सूचीमा अशोक चौधरी, शिशिर खनाल, तोसिमा कार्की, सोविता गौतम, गणेश पराजुली, हरि ढकाल, मनिष झा, विराजभक्त श्रेष्ठ छन् ।
पहिलो दिनको औपचारिक सत्रको अन्त्यमा रविकिरण अधिकारी, शंकर श्रेष्ठ तथा निश्चलसिंह भण्डारीले चुनावी प्रतिवेदन प्रस्तुत गर्दै समूह छलफल र ब्रेनस्ट्रोमिङ गर्न सहजीकरण गर्नेछन् । यसका लागि १५ समूह बनाएर १५ रणनीतिक प्रश्नको समाधान खोजिने छ ।
अनि सबै सहभागीलाई औपचारिक पोशाकमा उपस्थित गराए परिचयात्मक कार्यक्रमसहितको नेतृत्व संवाद तथा डिनर गर्दै पहिलो दिनको प्रशिक्षण समापन हुनेछ ।
दोस्रो दिन
दोस्रोको सत्रमा योजना, बजेट निर्माण, सुशासन र राजनीतिक संस्कार विकासको प्रशिक्षण दिनइने छ । औपचारिक र अनौपचारक बेग्लाबेग्लै सत्रको सुरुवात बिहानको योग र ध्यानबाट सुरु हुनेछ । एलपी भानु शर्माले माइण्डफुलनेस अभ्यास अर्था योग तथा ध्यानसहितको प्रवचन दिनेछन् ।
औपचारिक सत्रलाई बिहान ९ बजेदेखिको समय निर्धाण गरिएको छ । बिहान पहिलो सत्रमा पूर्वसचिव डा तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रिया योजना तथा बजेट निर्माणका विषयमा सहजीकरण गर्नेछन् ।
सुशासन: अवधारणा र सभ्यासका विषयमा सांसद र नीति निर्माताका लागि दिइने प्रशिक्षणको सहजीकरण पूर्वसचिव प्रतापकुमार पाठकले गर्नेछन् ।
पार्टी र सांसदको सम्बन्ध: नयाँ राजनीतिक संस्कारमा सांसदको भूमिका, आचारसंहिता तथा न्यूनतम प्रतिवद्धताका विषयमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य आरके ढुंगानाले सहजीकरण गर्नेछन् ।
अनि समूहगतरुपमा सांसदले एजेण्डा प्राथमिकता निर्धारणबारे सहभागी सबैले प्रस्तुती दिने कार्यसूची तय भएको छ ।
त्यसपछि हुने समापन सत्रको कार्यक्रममा प्रतिभा रावल र मनिष झाले एजेण्डा प्राथमिकता निर्धारणको प्रस्तुतीसहित सहभागीले धन्यवाद ज्ञापन गरेपछि सभापति रवि लामिछानेको सम्बोधनसँगै अभिमुखीकरण समापन हुने कार्यसूची छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटसहित झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको थियो ।
प्रकाशित: ३ चैत्र २०८२ १३:०९ मंगलबार