राजनीति

जेन-जी आन्दोलनकै बेला भइरहेको मन्त्रिपरिषदमा के के छलफल भए ?

जेन-जी प्रदर्शनका क्रममा दिउँसो गोली चलेर धेरै युवाको ज्यान गएपछि साँझ मन्त्रिपरिषद बस्यो । त्यो मन्त्रिपरिषदमा भएको छलफलका निर्वतमान शिक्षामन्त्री रघुजी पन्तले आज नागरिकसँग साटेका छन् ।  

नागरिक दैनिकको प्रस्तुती नागरिक फन्टलाइनमा कुराकानी गर्दै उनले भने, ‘हामी के कसो गरेर मन्त्रिपरिषद बैठकका लागि बालुवाटारमा भेला भयौँ । बालुवाटारको बैठकमा सहभागी हुनुभएका गृहमन्त्रीले यो अवस्थामा रहन नसक्ने भन्दै पदबाट राजीनामा दिने घोषणा गर्नुभयो । त्यति बेला यस्तो विषय परिस्थितिमा मुख्य मन्त्रालय नै खाली भएपछि समस्या हुनुसक्छ भन्ने विषय उठेको थियो ।’

उनले त्यसपछिको बैठकमा भएका छलफल सुनाउँदै गए, ‘उहाँले राजीनामा दिने कुरासँगै फेसबुकबारे आफूहरूले लिएको निर्णय फिर्ता लिनुपर्छ भन्नुभयो । अनि प्रधानमन्त्री ज्यूले एलन मस्कको कम्पनी एक्सले पठाएको पत्रको विषयलाई लिएर कुरा गर्नुभयो । त्यो पत्र हेर्ने जो कोहीले पनि एउटा कम्पनीले सार्वभौम मुलुकलाई नमान्ने भनेर उठ्न सक्छ । हामीमा पनि त्यही भयो । नेपालका बारेमा भ्रष्टाचार भएको देशलगायतका नेपाललाई बदनाम गराउने धेरै विषय लेखिएको छ । त्यो कसैलाई चित्त बुझ्ने अवस्था छैन । चिठीको व्यहोरा सुनेपछि हामीले छलफलमा केही परिवर्तन गर्‍यौ ।’

पन्तले यो छलफलका क्रममा आफैँले उठाएका कुरा सुनाए । उनले भने, ‘त्यसपछि मैले नै नेपालमा एक्स अहिले धेरै प्रयोगमा पनि छैन । देशलाई नै अपमान हुने गरी पत्र पनि लेखेको छ । एक्सको प्रतिबन्ध कायम राखेर फेसबुकको हटाऔँ भने ।’

प्रकाशित: ६ आश्विन २०८२ १५:२२ सोमबार