राजनीति

जेनजी समूहलाई घरमा स्वागत गर्दै दुर्गा प्रसाईंले भने- चैत १५ जस्तो दमन नहोस्

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेनजी पुस्ताका आवाज बुलन्द पार्न आवश्यक रहेको बताएका छन् ।  

आइतबार जेनजी पुस्ताका संयोजक आफ्नो घरमा आएको उल्लेख गर्दै प्रसाईंले  यो पुस्तासँगको भेटले उत्साहित बनाएको उल्लेख गरे ।  

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज कार्यक्रमको पूर्वसन्ध्यामा जेन-जीका संयोजक भाइबहिनीहरूलाई मेरो निजी निवासमा स्वागत गर्ने सौभाग्य पाएँ। छोटो तर सार्थक संवादले अझ प्रष्ट पारिदियो कि हामीले विगत पाँच वर्षदेखि उठाउँदै आएका मुद्दाहरू साझा र दीर्घकालीन महत्वका रहेछन्।’

देश निर्माणको जिम्मेवारी सबैको रहेको बताउँदै उनले अब उमेरले होइन एजेण्डाले प्राथमिकता पाउनुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘हामी सबै एउटै निष्कर्षमा पुग्यौँ-आन्दोलन उमेरको विषय होइन। भ्रष्टाचारले सबै उमेरका नागरिकलाई गाँजेको छ। त्यसैले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नु, अन्यायविरुद्ध लड्नु र आफ्ना आवाज बुलन्द गर्नु प्रत्येक नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो।’

उनले जेनजी पुस्ताको खबरदारीमा चैत १५ को जस्तो दमन हुन नहुने बताएका छन् । ‘उनले लेखेका छन्, ‘भ्रष्टाचारविरुद्धको हाम्रो आन्दोलन शान्तिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दै, मैले उपस्थित सबैलाई बिदा गरेँ। चैत १५ गतेजस्तो दमन नहोस्, विशेषतः २८ वर्षमुनिका भाइबहिनीमाथि, भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।’

जेनजी पुस्ताले सोमबार राजधानीमा शान्तिपूर्ण खबरदारी प्रदर्शन गर्ने तयारी गरेका छन् ।

प्रकाशित: २२ भाद्र २०८२ २०:०६ आइतबार