राजनीति

वैदेशिक रोजगारीमा जानेलाई ठग्ने मेनपावरमाथि चाँडै कडा कारबाही गर्छौ : मन्त्री भण्डारी

फाइल तस्बिर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका क्षेत्रमा सर्वसाधारण नागरिकलाई ठगी गर्ने मेनपावर कम्पनीमाथि चाँडै नै कडा कारबाही गरिने जानकारी दिएका छन्।

मन्त्री भण्डारीले बिहीबार फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको २४औँ साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन्। श्रम मन्त्रालयमा केही सुधारका काम प्रारम्भ गरिएको उनको दाबी थियो। 

सो अवसरमा उनले देशमा बढ्दो वैदेशिक व्यापार घाटामा कमी ल्याउन स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए। 

नेपालमा उत्पादित सामग्रीलाई विदेशी बजारमा निर्यात गर्ने उद्योगलाई सरकारले सहुलियत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री भण्डारीले विश्वबजारमा नेपाली सामग्रीलाई चिनाउने गरी गुणस्तरीय वस्तु उत्पादन गर्न व्यवसायीलाई आग्रह गरे।

स्वदेशी उत्पादनलाई वृद्धि, बजार व्यवस्थापन तथा उद्योग व्यवसायको प्रवर्द्धनमा निजी क्षेत्रसँग सरकारले सहकार्य गर्ने बताउँदै उनले ठुलो परिमाणमा रोजगारी सृजना गर्ने उद्योगलाई आवश्यक परेका नीतिगत समस्या तुरुन्तै समाधान गर्ने प्रतिबद्धता जनाए।

मुलुकमा समग्र मागको करिब ८० प्रतिशत जुत्ता तथा चप्पल स्वदेशमै उत्पादन हुने जनाइएको छ। एसोसिएसनले सुरज बन्जाडेको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। रासस

प्रकाशित: ९ माघ २०८२ ०९:१२ शुक्रबार