श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी गरिब जनताको अधिकारका पक्षमा दृढ रहेको दाबी गरेका छन्।
झापाको मेचीनगर-६ काँकडभिट्टामा मंगलबार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष राईले पार्टीका कार्यकर्ताले मुलुकका विभिन्न भागमा श्रमदानमार्फत गरिब जनताको सेवा गरेर आफ्नो राजनीतिक उद्देश्य पुष्टि गरिरहेको बताएका छन्।
सुकुम्बासी समस्या समाधानमा वर्तमान सरकार गैरजिम्मेवार बनेको आरोप लगाउँदै उनले भने, ‘सरकारमा नभएका कारणले हामीले अहिले आवाज मात्र उठाउन सकेका छौं। सत्तामा पुगेका दिन हामी सुकुम्बासीलाई जग्गा र बसोबासको उचित व्यवस्था मिलाउँछौं।’
यसैगरी, अध्यक्ष राईले झापाका बासिन्दाले लामो समयदेखि जंगली हात्तीको आतंक झेल्नुपरेको विषय उठाउँदै स्थानीय नागरिकको जीउधनको सुरक्षा गर्न सरकारसँग माग गरेका छन्।
काँकडभिट्टाको सभापछि श्रम संस्कृति पार्टीले झापाकै अर्जुनधारामा आयोजना गरेको अर्को कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले श्रमको सम्मान र उत्पादनमूलक कामबाट मात्रै देशलाई समृद्ध बनाउन सकिने धारणा राखेका थिए।
प्रकाशित: १७ कार्तिक २०८३ २१:४७ मंगलबार