नेकपा (एमाले) का नेता सूर्य थापाले जेन-जी आन्दोलनका नाममा सिंहदरबारमा आगजनी र तोडफोड गर्नेहरूलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने र उनीहरूलाई इतिहासको कठघरामा उभ्याएरै छाड्ने चेतावनी दिएका छन्।
उनले लोकतान्त्रिक प्रक्रियालाई लत्याएर विध्वंसको बाटो रोज्नेहरूले आफ्नो अपराधको जिम्मेवारी लिनैपर्ने बताए।
बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले जेन-जी आन्दोलनका नाममा भएका हिंसात्मक घटनाहरूको आलोचना गरेका हुन्।
उनले भने, ‘केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुई तिहाइ बहुमतको सरकार थियो। यदि सरकारको काम चित्त बुझेको थिएन भने जनताले आवधिक निर्वाचनमार्फत दण्डित गर्न सक्थे, पार्टीलाई हराउन सक्थे। तर त्यो बाटो अपनाइएन। आगजनीको बाटो अपनाइयो, रक्तपातको बाटो अपनाइयो, विध्वंसको बाटो अपनाइयो।’
आन्दोलनका क्रममा सार्वजनिक रूपमै सिंहदरबार खरानी बनाउँछु भन्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिँदै थापाले भने, ‘यहाँ त म खरानी बनाउँछु भनेर मान्छेहरूले हाँकाहाँकी सार्वजनिक रूपमा भनिराख्या छन्। सिंहदरबार आगो लगाउने, खरानी बनाउने भनेका व्यक्तिहरूले त्यसको जवाफदेही लिनुपर्छ कि पर्दैन ? म भन्छु लिनुपर्छ।’
नेता थापाले आन्दोलनको आह्वान गर्नेहरू घटनाको जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए। ‘प्रदर्शनको आह्वान गर्ने जेन-जीले २४ गतेका घटनाको पनि जिम्मेवारी लिनुपर्छ। हामीलाई थाहापत्तो भएन भनेर जिम्मेवारीबाट मुक्त हुन पाइन्न,’ उनले भने।
उनले हिंसात्मक गतिविधिमा संलग्नहरूलाई कारबाही हुनुपर्ने संकेत गर्दै भने, ‘आज कुनै कारणले जोगिए भने पनि इतिहासको कठघरामा ल्याउने काम हामीले गर्नेछौं।’
थापाले लोकतन्त्रमा असन्तुष्टि व्यक्त गर्ने संवैधानिक बाटो हुँदाहुँदै हिंसात्मक बाटो रोज्नुले देशलाई ‘ब्ल्याक होल’ तर्फ धकेल्ने र यसले कसैको हित नगर्ने स्पष्ट पारे।
उनले सिंहदरबारमा आगजनी गरिएको, तीन दिनसम्म दमकल जान रोकिएको जस्ता गम्भीर घटनाको गहन अनुसन्धान हुनुपर्ने र दोषीलाई कारबाही गर्न सरकार पछि हट्न नहुने धारणा राखे।
प्रकाशित: २७ कार्तिक २०८२ १९:५२ बिहीबार