राजनीति

महाविपत्तिमा नागरिकको साथ छाड्दैनौं, नसक्ने काममा पनि अतिरिक्त तागत लगाउँछौं: गगन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र पार्टी नागरिकको पीडामा अन्तिम विन्दुसम्म सँगसँगै उभिने प्रतिबद्धता जनाएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोल्दै उनले उद्धार, राहत र पुनःस्थापनामा राज्यले गर्न सक्ने मात्र नभई ‘नसक्ने काममा पनि अतिरिक्त तागत’ लगाएर जुट्नुपर्ने बताएका हुन्।

‘हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौं, यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिकहरूसँगसँगै रहन्छौं,’ सभापति थापाले भने, ‘हामी अन्तिम विन्दुसम्म जहाँ पुग्नुपर्ने हुन्छ, त्यहाँसम्म नागरिकसँगै रहन्छौं र गर्न सक्ने मात्र होइन, नसक्ने काममा पनि अतिरिक्त तागत लगाएर सहयोग गर्छौँ।’

नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किएका सभापति थापाले अहिलेको अवस्था विगतका विपद्‌भन्दा भिन्न र हृदयविदारक रहेको बताए।

धेरै परिवारले एकैपटक आफन्त गुमाएको र बस्ती नै सामूहिक शोकमा डुबेको उल्लेख गर्दै उनले प्रशासनिक प्रोटोकलभन्दा माथि उठेर मानवीय स्पर्श दिनुपर्नेमा जोड दिए।

‘अहिले त्यहाँ राहत, पुनःस्थापना, पुनर्वास र पुनःनिर्माणको प्रोटोकल त चाहिन्छ नै, तर त्योभन्दा पनि ठूलो कुरा करुणा र सद्भाव चाहिएको छ। समानुभूति र समवेदना चाहिएको छ,‘ थापाले भने, ‘यतिखेर सिङ्गो समाजलाई नै ठूलो बज्रपात परेकाले एक-अर्काको हात समाइदिने मान्छे चाहिएको छ।’

स्थलगत अनुगमनका क्रममा परिवारका सबै सदस्य गुमाएका एक अनाथ बालक र उनकी हजुरआमासँग भएको भेट स्मरण गर्दै उनले बालबालिकाको दीर्घकालीन संरक्षण, शिक्षा र अभिभावकत्व राज्य र समाजको पहिलो प्राथमिकता हुनुपर्ने बताए।

लामो समयदेखि बेपत्ता रहेका नागरिकको कानुनी हैसियत प्रस्ट नहुँदा पीडित परिवार थप अन्योल र कानुनी जटिलतामा फसेको भन्दै सभापति थापाले यसमा तत्काल सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराए।

यस्तो विशेष अवस्थामा परिवारका सदस्यलाई सूचक मानेर स्थानीय तहबाटै आवश्यक कानुनी प्रक्रिया अघि बढाउने कानुनी प्रबन्ध मिलाउनुपर्ने उनको सुझाव छ।

सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि नेपालको आन्तरिक प्रविधि र उपकरण अपुग भए तत्काल अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने थापाले बताए। नेपालसँग सुरुङ निर्माणको लामो अनुभव भए पनि सुरुङभित्रको जटिल उद्धार र भारी उपकरण एयरलिफ्ट गर्ने क्षमताको अभाव हुन सक्ने उनको भनाइ थियो।

सुरुङ उद्धारबारे प्रधानमन्त्री र सरकारी प्रवक्ताबाट फरक-फरक अभिव्यक्ति आएकोप्रति प्रश्न उठाउँदै उनले विज्ञ, प्राविधिक र सेना सम्मिलित एकीकृत संयन्त्रमार्फत निर्णय लिनुपर्ने बताए।

अहिले राजनीतिक आरोप-प्रत्यारोपमा अल्झिने समय नभएको बताउँदै सभापति थापाले भने, ‘अहिले कसैलाई अपजस दिने बेला होइन, अझै उद्धार गरेर बचाउन सकिने ठाउँमा जे-जे लगाउनुपर्ने हो, सबै कुरा लगाउनुपर्छ।’

उनले तीनै तहका सरकार, सुरक्षा निकाय, प्राविधिक, स्वयंसेवक र राजनीतिक दलहरूबीच थप प्रभावकारी समन्वयको खाँचो औंल्याए।

प्रकाशित: २१ भाद्र २०८३ २०:५५ आइतबार