राजनीति

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा रोकिएका तथा कार्यान्वयनमा समस्या देखिएका विकासका कामलाई गति दिने बताएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नागरिकको आवश्यकता पहिचान गरी पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताए।

स्थानीय तहमा वडाध्यक्ष र प्रदेशको स्वास्थ्यमन्त्रीका रूपमा काम गर्दा प्राप्त अनुभवलाई प्रदेशको विकासमा उपयोग गर्ने उनको भनाइ थियो।

प्रदेशका १३ जिल्ला, ११९ स्थानीय तह र एक हजार १२१ वडाको भौगोलिक तथा विकासको अवस्थाबारे आफू जानकार रहेको उल्लेख गर्दै उनले आवश्यकताका आधारमा विकास कार्यक्रम सञ्चालन गरिने बताए।

'कुन क्षेत्रमा पूर्वाधार आवश्यक छ, शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ तथा नागरिकले कसरी सेवा पाइरहेका छन् भन्ने विषयमा म जानकार छु', उनले भने, 'अड्किएका र रोकिएका कामलाई अगाडि बढाउनेछु।'

मुख्यमन्त्री थापा मगरले प्रदेशका मन्त्रालयको संरचना, कर्मचारी दरबन्दी र प्रदेश सचिवहरूको व्यवस्थापन शीघ्र गरिने बताए। यसअघि कायम १४ मन्त्रालयलाई गाभेर आठवटा बनाइएपछि संरचना तथा कर्मचारी व्यवस्थापनका केही काम बाँकी रहेको उनको भनाइ थियो।

गाभिएका मन्त्रालयलाई व्यवस्थित गरी प्रत्येक मन्त्रालय एउटै स्थानबाट सञ्चालन गरिने उनले जानकारी दिए। मन्त्रालयको सङ्ख्या तत्काल बढाउने सोच नरहेको स्पष्ट पार्दै उनले आवश्यकता देखिएमा सत्ता साझेदार तथा प्रतिपक्षी दलसँग छलफल गरेर निर्णय गरिने बताए।

प्रकाशित: ५ भाद्र २०८३ ०६:३६ शुक्रबार