नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीप्रति असन्तुष्ट रहेका जनता र कार्यकर्ताको मन जित्दै एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउने बताएका छन्।
नेकपा (एमाले) तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई थप सशक्त र बलियो बनाएर अघि बढाउने बताएका हुन्।
एउटा निर्वाचनमा पार्टी पराजित हुँदैमा एमालेको राजनीतिक भविष्य समाप्त नहुने उल्लेख गर्दै उनले निराश नभई पार्टी सुदृढीकरणमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।
‘एउटा निर्वाचनमा एमाले पराजित भयो भन्दैमा एमालेको भविष्य सकिएको छैन। पार्टीलाई अझ सशक्त र बलियो बनाएर लैजान्छौँ’, उनले भने, ‘एमालेलाई जनताको भरोसायोग्य पार्टी बनाउँछौँ। पार्टीसँग रिसाएका जनता र कार्यकर्तालाई फर्काउँछौँ।’
महासचिव पोखरेलले निर्वाचनको परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने बताए। पार्टीप्रति जनताको विश्वास पुनः स्थापित गर्न नेता तथा कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाइ थियो।
पार्टीका सचिव खगराज अधिकारीले पार्टीभित्र गुटबन्दी स्वीकार्य नहुने बताए। पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिँदै उनले गुटगत गतिविधिभन्दा सङ्गठनको हितलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
पार्टीकी केन्द्रीय सदस्य भगवती न्यौपानेले निर्वाचनको परिणामबाट विचलित नभई नेता तथा कार्यकर्तालाई पार्टी सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
निर्वाचनको परिणामबाट निराश नभई पार्टीलाई थप व्यवस्थित र सुदृढ बनाउन सबैले सक्रिय हुनुपर्ने उनको भनाइ थियो।
प्रकाशित: ११ मंसिर २०८३ १७:०६ शुक्रबार


-600x400.jpg)
