राजनीति

बालेन, कुलमान र जेन-जी लाई समेट्छौं, सहकार्यको ढोका खुला छ: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन शाह, कुलमान घिसिङ जस्ता स्वतन्त्र व्यक्तित्व र जेन-जी पुस्ताबाट उदाएका नयाँ शक्तिहरूसँग सहकार्यका लागि ढोका खुला रहेको बताएको छ।

आइतबार पार्टीको सचिवालय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सह-महामन्त्री गणेश पराजुलीले एउटै मुद्दा लिएर अघि बढेका शक्तिहरू एक्ला एक्लै हिँड्दा नेपाली जनताले हार्ने भन्दै सहकार्यको विकल्प नभएकोमा जोड दिए।

‘बालेन शाह, गोपाल हमाल, कुलमान घिसिङ वा जेन-जी पुस्ताबाट उदाएका नयाँ राजनीतिक शक्तिहरू, यी सबैलाई एकीकृत गरेर स्पेस दिनका लागि रास्वपाले ढोका खुला गरेको छ,’ सहमहामन्त्री पराजुलीले भने, ‘एउटै उद्देश्य प्राप्तिका लागि हिँडेका शक्तिहरू एक्ला एक्लै गएर कहीँ पुग्न सकिँदैन। यदि यी शक्तिहरू एक्लै हिँड्ने जमर्को गरे भने हार्ने भनेको फेरि नेपाली जनताले हो, हाम्रै मुद्दा हार्ने हो।’

उनले सुशासन र भ्रष्टाचारविरुद्धको साझा मुद्दा बोकेका सबैका लागि रास्वपा सबैभन्दा उपयुक्त र वैधानिक प्लेटफर्म भएको दाबी गरे।

यसका लागि पार्टीले संवाद प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै पराजुलीले भने, ‘पुकार बमजीको संयोजकत्वमा जेन-जी र नयाँ शक्तिहरूसँग संवाद गर्न समिति बनेको छ भने उपाध्यक्ष स्वर्णिम वाग्लेजीको संयोजकत्वमा अन्य सक्रिय साथीहरूलाई एकै ठाउँमा ल्याउन संवाद समितिले काम गरिरहेको छ।’

बैठकले आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा भइसकेको अवस्थामा पार्टीका सम्पूर्ण गतिविधि निर्वाचन केन्द्रित गर्ने निर्णय गरेको छ।

सहमहामन्त्री पराजुलीले कार्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने प्रक्रियामा सहजीकरण गर्न पार्टीका सबै संयन्त्रलाई परिचालन गरिने बताए।

त्यसैगरी, पार्टीले कार्तिक २१ र २२ गतेका लागि केन्द्रीय समितिको विस्तारित भेला बोलाएको छ। जसमा निर्वाचनसम्बन्धी राजनीतिक प्रतिवेदन र अन्य विषयमा छलफल हुनेछ।

रास्वपाले निर्वाचनअघि पार्टीमा जोडिने नयाँ शक्तिहरूलाई समेत समेटेर महाधिवेशनमार्फत वैधानिकता दिनका लागि पार्टीको महाधिवेशन निर्वाचनपछि मात्र गर्ने निर्णय गरेको छ।

प्रकाशित: ९ कार्तिक २०८२ १८:५२ आइतबार