श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी सत्तामा पुगे सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था मिलाउने बताएका छन्।
मेचीनगर-६ स्थित काँकडभिट्टामा मंगलबार आयोजित जनसभामा उनले आफ्नो पार्टी श्रमजीवी र गरिब जनताको पक्षमा रहेको बताएका हुन्। पार्टीका श्रमदाताले देशका विभिन्न स्थानमा गरिबका लागि श्रम गरेर आफ्नो राजनीतिक लक्ष्य कामबाटै प्रमाणित गरिरहेको उनको दाबी थियो।
सुकुम्बासी समस्या समाधानमा वर्तमान सरकार गम्भीर नभएको आरोप लगाउँदै उनले भने, ‘सरकारमा नभएका कारण हामीले आवाज मात्र उठाउन सकेका छौँ। सत्तामा पुगेको दिन सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था मिलाउँछौँ।’
झापाका बासिन्दाले जगंली हात्तीको समस्या झेल्नुपरेको उल्लेख गर्दै उनले नागरिकको जीउधनको सुरक्षा गर्न सरकारलाई आग्रह गरे। सोही दिन, अर्जुनधारामा आयोजित सभालाई सम्बोधन गर्दै राईले श्रम गरेरै देशलाई सुखी र समृद्ध बनाउन सकिने बताए।
प्रकाशित: १८ कार्तिक २०८३ ०६:३४ बुधबार