श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनः स्थापनाका लागि आफ्नो दल श्रमदान गर्न तयार रहेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारसँग अन्य राजनीतिक मुद्दामा असहमति रहे पनि विपद्को घडीमा साथ दिन श्रमदाता खटाउने प्रस्ताव गरेका हुन्।
उद्धार कार्यमा सरोकारवाला निकायबीच समन्वयको अभाव देखिएको र पीडित पक्षबाट व्यापक गुनासो आइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए। विपद् व्यवस्थापनमा आवश्यक उपकरणसहित दक्ष जनशक्तिको भरपुर प्रयोग हुन नसकेको उनको भनाइ छ।
‘सरकारको आलोचना भोलि गरौंला, अहिले पीडितले पर्याप्त राहत नपाएको गुनासो छ। यो राहतको ढोका बन्द गर्ने होइन, खोल्ने समय हो,’ सांसद राईले संसद्मा भने, ‘राहत वितरणलाई पारदर्शी र व्यवस्थित गरौं। पीडित परिवारलाई आफ्ना प्रियजनको अन्तिम संस्कार र बिदाइ गर्ने अवसर अनिवार्य रूपमा दिइनुपर्छ।’
विपद्को सामना गर्न आन्तरिक स्रोतले मात्र नपुग्ने भन्दै सांसद राईले जलवायु कोषलगायत अन्तर्राष्ट्रिय कोषहरूबाट सहयोग जुटाउन सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिए।
अर्को हिमबाढीको जोखिम आउनुअघि पूर्वतयारीमा राज्य कत्तिको गम्भीर हुन्छ भन्ने विषय अबको मुख्य परीक्षा रहेको उनले बताए।
प्रकाशित: १७ भाद्र २०८३ १६:०५ बुधबार



