नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुले आफूहरु मुलुक बनाउने संकल्पका साथ एक भएको बताएका छन्।
लमहीमा शनिबार भएको एकता सन्देश सभामा सहभागी शीर्ष नेताहरुले आम नागरिकलाई हित गर्ने संकल्पका साथ यो पार्टीको जन्म भएको बताए।
पार्टीका संयोजक पुष्पकमल दाहालले देश बनाउने नयाँ संकल्पका साथ बृहत एकता मार्फत नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको सुनाए।
राष्ट्रका लागि जस्तो सुकै बलिदान दिन तयार हुने संकल्पका साथ विभिन्न बाम दलहरु एक भएको दाहालको भनाइ थियो। शनिबार लमहीमा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले आफूहरु प्रति नयाँ आशा र भरोसा जागृत भएको समेत बताए।
‘हामी नयाँ संकल्पका साथ आएका छौँ, जस्तो सुकै बलिदान दिनका लागि तयार भएर हामीहरु एक भएका छौँ,’ दाहालले भने ‘हाम्रो यो नयाँ यात्रा प्रति सबैको आशा र भरोसा जागृत भएको छ।’
दाहालले आफूहरु अब सच्चिएर अगाडी बढ्ने भन्दै आफूहरुलाई सच्चिने मौका दिन समेत आग्रह गरे। आफूहरुले अब विगतमा जस्तो कमजोरी दोहोरिन नदिने भन्दै दाहालले आम नागरिकको भावनलाई सम्मान गर्दै सबैसंगको सम्बन्ध बलियो बनाउने बताए।
‘हामी सच्चिन्छौँ, हामीहरुलाई सच्चिने मौका दिनुस्,’ दाहालले भने ‘विगतमा जस्तो कमजोरी अब हामीबाट हुने छैन।’
चुनावमा सीट जित्दैमा नागगरिकको अपेक्षा पुरा हुन नसक्ने दृष्टान्त पछिल्लो घटनाक्रमले पुष्टि गरिसकेको भन्दै चुनावको परिणामको मात्रै आफूहरु पछि नलाग्ने बताए।
आम नागरिकको अपेक्षा पुरा गर्न प्रतिकृयावादीहरुसंगको लडाई अनिवार्य रहेको भन्दै आफूहरुको एकता त्यो लडाईका निम्ती भएको बताए।
दुई तिहाइको बलमा सरकारको नेतृत्व गरेका केपी ओली भागाभाग हुनु परेको भन्दै दाहालले उल्टो त्यसको आरोप ओलीले आफू माथि लगाइरहेको समेत बताए।
‘दुई तिहाइको बलमा प्रधानमन्त्री रहेका केपी शर्मा ओली भागाभाग हुनुपर्यो, अझ यो सब प्रचण्डले गराएको भनेर केपी ओलीले मलाई आरोप लगाइरहेका छन्,’ दाहालले भने ‘त्यो भागाभाग उनिहरुकै आफ्नै कुकर्मले भएको हो, तर भागाभाग हुँदा पनि अझै पनि अहंकार हटेको छैन।’
उनले आफूहरुको एकता ठूलो बाम एकता भएको भन्दै यो एकतामा अझै धेरै दलहरु सहभागी हुने समेत बताए।
कार्यक्रममा बोल्दै सहसंयोजक माधव कुमार नेपालले आम नागरिकहरुको समस्या समाधानका लागि नेपाल कम्युनिष्ट पार्टीका नाममा बाम एकता भएको बताए।
आम नागरिकहरुको समस्याका विषयमा आफूहरुले गम्भिर अध्ययन गरिरहेको भन्दै यी समस्या समाधानका लागि संकल्पका साथ आफूहरु अगाडी बढिरहेको उनले बताए।
‘हामीले आम नागरिकका समस्याहरु अध्ययन गरिरहेका छौँ,’ नेपालले भने ‘हरेक नागरिकका समस्या समाधान गर्ने संकल्पका साथ हामीहरु अगाडी बढिरहेका छौँ।’
यसैगरि नेता भीम रावलले जनतालाई धोका दिएका राजनीतिक दलहरुलाई नेपाली जनताले चिनिसकेको बताए।
फलतः आफूहरुको नेपाल कम्यूनिष्ट पार्टी आम नागरिकको अपेक्षाको राजनीतिक शक्तिका रुपमा निर्माण भएको बताए।
यसैगरि नेता बामदेव गौतमले पनि नेपाल कम्यूनिष्ट पार्टीलाई कृषि उत्पादनमा आधारित दलका रुपमा स्थापित गरिने बताए।
उनले यसो हुन नसके आफूहरु अगाडी बढ्न नसक्ने उनको भनाइ थियो। यसैगरि उनले आगामी निर्वाचनमा आफूहरुले बहुमत हासिल गरेर यो दललाई प्रमुख पार्टी बनाउने दाबी समेत गरे।
एकता सन्देश सभामा नेताहरु वर्षमान पुन, रेखा शर्मा लगाएत पनि सहभागी थिए।
प्रकाशित: १३ मंसिर २०८२ २०:४४ शनिबार