नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ २३ र २४ को घटनाक्रमपछि आफूहरू मारिने वा मिचिने अवस्थामा पुगेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरूलाई पार्टीका कार्यकर्ताले नभई विश्वको भूराजनीतिले मृत्युबाट जोगाएको विश्लेषण सुनाए।
‘हामी त किचिक्क परेर मिचिने र मारिने ठाउँमा थियौं। प्रतिक्रियावादीले चाहेको भए त एकैछिनमा सकिने अवस्था थियो, तर हामी बच्यौं,’ विगतको अवस्था सम्झिँदै उनले भने, ‘त्यतिबेला हाम्रा कार्यकर्ता वा लडाकुले जुलुस निकालेर बचाएका होइनन्, त्यो अवस्था नै थिएन। भूराजनीतिक शक्तिकेन्द्रहरूबीचको एकता र संघर्षका कारण हामी बाँचेका हौं।’
उनले भदौ २३ र २४ पछि दुई दिनसम्म नेताहरू जीवित छन् कि छैनन्, कतै गिरफ्तार वा हत्या त भएनन् भन्ने त्रासको स्थिति रहेको स्मरण गरे। तर, जसले २४ गते विध्वंश मच्चाएका थिए, तिनैले २६ गते आफूहरूलाई बोलाएर सल्लाह लिएको भन्दै उनले आश्चर्य प्रकट गरे।
‘२६ गते राति फेरि लौ के गर्ने हो भनेर सल्लाह गर्ने ठाउँमा पुगियो, यो बडो अनौठो थियो,’ उनले भने, ‘प्रधानसेनापति र राष्ट्रपतिले हामीलाई बोलाएर सुझाव लेलान् भन्ने त हामीले सोचेकै थिएनौं, तर त्यही भयो।’
संयोजक दाहालले नेपालको आन्तरिक राजनीतिमा विदेशी शक्तिकेन्द्रहरूको प्रभाव कति जब्बर छ भन्ने कुरा यो घटनाले पुष्टि गरेको दाबीसमेत गरे।
प्रकाशित: २१ असार २०८३ १९:५९ आइतबार