प्रधानमन्त्री सुशीला कार्कीले सडकमा पोखिएको युवा पुस्ताको आक्रोशलाई मतपत्रमार्फत राष्ट्र निर्माणको सकारात्मक ऊर्जामा बदल्ने सरकारको मुख्य लक्ष्य रहेको बताएकी छन्।
बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले वर्तमान सरकार युवाहरूको जायज आक्रोश र दशकौंदेखिको राजनीतिक बेथितिविरुद्धको आन्दोलनको जगमा बनेको स्मरण गरिन्।
उनले युवाहरूको असन्तुष्टि केवल कानुन व्यवस्थाको समस्या मात्र नभई संरचनागत र राजनीतिक सम्बोधनको माग भएको सुनाइन्।
‘हामी युवाहरूको आक्रोशलाई मतपत्रको सकारात्मक ऊर्जामा रूपान्तरण गर्न चाहन्छौँ,’ प्रधानमन्त्रीले भनिन्, ‘सडकको विद्रोहलाई अब नीति निर्माणको टेबलतर्फ डोर्याउनुपर्छ।’
युवाहरूलाई राजनीति र नीति निर्माणको मूल धारमा ल्याउन सरकारले ठोस कदम चालेको प्रधानमन्त्रीले जानकारी दिइन्। उनले अध्यादेशमार्फत निर्वाचन कानुनमा सुधार ल्याउन लागिएको र यसले निर्वाचन प्रक्रियामा युवाको सहभागिता उल्लेख्य रूपमा वृद्धि गर्ने दाबी गरिन्।
युवा पुस्ताले ‘अब पुग्यो ! भ्रष्टाचार, कुशासन र पहुँचको राजनीति अब चल्दैन’ भन्ने स्पष्ट सन्देश दिएको भन्दै प्रधानमन्त्री कार्कीले सरकारले सोही जनादेश अनुसार काम गरिरहेको जिकिर गरिन्।
साथै, उनले आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाहरूको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिने प्रतिबद्धता समेत व्यक्त गरेकी छन्।
आगामी फागुन २१ गते हुने निर्वाचनमा युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न उनले दलहरूलाई आग्रह समेत गरिन्।
प्रकाशित: ३ मंसिर २०८२ १८:३९ बुधबार