राजनीति

कृषि, उद्योग र खेलकुदको विकास गरेर पूर्वको मुहार फेर्न चाहन्छौं: बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पूर्वको विकास, कृषिमा आत्मनिर्भरता र बन्द उद्योग सञ्चालनका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

मंगलबार इटहरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै शाहले पूर्वको सम्भावना र विद्यमान समस्यामाथि विस्तृत धारणा राखेका हुन्।

नेता शाहले पूर्वका पहाडी जिल्लाहरू तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी झापा, मोरङ र सुनसरीका बजारसम्म आइपुग्न नसकेको र सीमापारी (भारत) को तरकारी खानुपर्ने बाध्यता रहेको सुनाए।

उनले भने, ‘हाम्रै पहाडमा फलेको तरकारी तराईमा खान नपाउनु दुखको कुरा हो। यो सप्लाई चेनको समस्या समाधान गर्ने पार्टी रास्वपा बन्न चाहन्छ।’

पूर्वी तराईका ३–४ वटा जिल्लाले मात्रै सही व्यवस्थापन गर्न सके देशलाई पुग्ने धान र चामल उत्पादन गर्न सक्ने क्षमता राख्ने भए पनि, हाल त्यहीँ खान नपुग्ने अवस्था सिर्जना भएकोमा उनले चिन्ता व्यक्त गरे।

वर्षामा बाढीले खेत बगाउने र हिउँदमा सिँचाइ नहुने समस्याको अन्त्य गर्दै तटबन्ध र बाह्रै महिना सिँचाइको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।

पूर्वको औद्योगिक इतिहासलाई स्मरण गर्दै शाहले विराटनगर जुट मिलदेखि अन्य कलकारखानाहरू बन्द हुनु दुर्भाग्यपूर्ण रहेको बताए।

नयाँ उद्योग खोल्नका लागि १० जना नेता र कर्मचारीलाई रिझाउनुपर्ने तथा उद्योग चलिसकेपछि चन्दा आतंक सुरु हुने प्रवृत्तिको आलोचना गरे। उनले भने, ‘अब उद्योगीले नेता ढोग्नुपर्ने र चन्दा दिनुपर्ने अवस्था नआउने गरी हामी व्यवस्था गर्न चाहन्छौं।’

नेता शाहले किरातहरूको आस्थाको केन्द्र खुवालुङ, तुवाचुङ र वराहक्षेत्रलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने योजना सुनाए। उदयपुरको कोशी तटीय क्षेत्रलाई इन्डोनेसिया र माल्दिभ्सजस्तै विकास गर्न सकिने सम्भावना उनले औंल्याए।

त्यस्तै, नेपालका ६० देखि ७० प्रतिशत फुटबल खेलाडी पूर्वबाट उत्पादन हुने भए पनि यहाँ ग्रास-रुट लेभलको ट्रेनिङ सेन्टर र स्तरीय रङ्गशाला नहुनु विडम्बना भएको बताए।

उनले खेलकुदको पूर्वाधार विकासमा १० वर्ष पछिको नतिजा देखिने गरी लगानी गर्नुपर्ने बताए।

प्रकाशित: १२ फाल्गुन २०८२ १५:५१ मंगलबार