कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले पार्टीको पहिलो महाधिवेशन भएकाले व्यवस्थापनमा केही प्राविधिक कठिनाइ देखिए पनि मतदान प्रक्रिया चाँडै सुरु हुने बताएकी छिन्।
चितवनमा जारी महाधिवेशनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पहिलो अनुभव भएकाले केही समय ढिलाइ भएको र यसलाई सिकाईका रूपमा लिनुपर्ने बताएकी हुन्।
मन्त्री गौतमले पार्टीका कार्यकर्ता र प्रतिनिधिहरू दिनरात नभनी व्यवस्थापनमा खटिएको बताउँदै आगामी दिनमा यस्ता कमजोरी सुधार्दै लगिने प्रतिबद्धता व्यक्त गरिन्।
‘पहिलो महाधिवेशन भएकाले व्यवस्थापन र तयारीका सवालमा केही सुधार गर्नुपर्ने ठाउँहरू महसुस गरेका छौं,’ उनले भनिन्, ‘यसपटकको अनुभवले आगामी अधिवेशनहरूमा अझ परिष्कृत र सुदृढ तयारीका साथ आउन हामीलाई मद्दत पुग्नेछ।’
पार्टीको स्थापनाकालदेखि हालसम्मको छोटो तर प्रभावकारी यात्रालाई स्मरण गर्दै मन्त्री गौतमले रास्वपा देशव्यापी शक्तिका रूपमा स्थापित भएको सुनाइन्।
उनले एउटा सानो समूहबाट सुरु भएको अभियान आज सरकार र सदनमा सशक्त उपस्थितिसहितको ठूलो पार्टी बन्नु गौरवको विषय भएको बताइन्।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरू पार्टीको यो उपलब्धिबाट निकै उत्साहित भएको उनको भनाइ थियो। आफ्नो उमेदवारीका विषयमा बोल्दै मन्त्री गौतमले अहिले आफू पहिलो चरणअन्तर्गत केन्द्रीय सदस्यका लागि प्रतिनिधिहरूसँग मत मागिरहेको जानकारी दिइन्
‘अहिले म केन्द्रीय सदस्यको भोट मागिरहेकी छु, त्यसपछि मात्र अर्को चरणको प्रक्रिया सुरु हुन्छ,’ उनले भनिन्, ‘पार्टीलाई यो बिन्दुसम्म ल्याउन मैले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन प्रतिनिधिहरूले गर्नेछन् भन्नेमा म विश्वस्त छु। उहाँहरूको मूल्याङ्कन र माया नै मेरो मुख्य आधार हो।’
नेतृत्व चयनका लागि भइरहेको प्रयासबारे चर्चा गर्दै उनले पार्टीभित्र लोकतान्त्रिक विधि र सहमति दुवैलाई महत्त्व दिइने बताइन्। ‘हामी सम्भव भएसम्म संवाद र छलफलमार्फत सर्वसम्मतिको प्रयास गर्छौँ,’ गौतमले भनिन्, ‘यदि सहमति हुन सकेन भने निर्वाचनमा जानु स्वाभाविक प्रक्रिया हो, यसलाई हामीले लोकतान्त्रिक अभ्यासकै रूपमा सहजताका साथ लिएका छौं।’
निर्वाचन कार्यक्रम केही पछि धकेलिए पनि प्रतिनिधिहरूमा धैर्यता र उत्साह यथावत रहेको मन्त्री गौतमको दाबी छ। रास्वपाको संशोधित विधानअनुसार ९९ जना निर्वाचित केन्द्रीय सदस्यमध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिनेछ, जसमा सोबिता गौतमलाई उपसभापति वा अन्य महत्त्वपूर्ण पदाधिकारीको बलियो दाबेदारका रूपमा हेरिएको छ।
रास्वपाको केन्द्रीय समिति चयनका लागि आज बेलुकाबाट मतदान सुरु हुने निर्वाचन कार्यतालिका छ।
प्रकाशित: १० असार २०८३ १९:३५ बुधबार



