राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नेपालमा पुराना सवारीसाधनका कारण बढिरहेको वायु प्रदूषणप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तामाङले देश सञ्चालनका लागि नयाँ नेतृत्व आए पनि सडकमा गुड्ने सवारीसाधन भने वर्षौं पुराना हुँदा नागरिकले स्वच्छ हावामा सास फेर्न नपाएको बताइन्।
उनले भनिन्, ‘हामीलाई देश हाँक्न चाहिने चालक चाहिँ नयाँ नेता र मन्त्री, तर गाडी चल्ने इन्जिन चाहिँ उही थोत्रा १० वर्ष पुराना भएपछि जनताले कसरी स्वच्छ हावामा सास फेर्न पाउँछन्?’
नेपालमा सञ्चालनमा रहेका सवारीसाधन कति वर्ष पुराना छन् भन्ने विषयमा अहिलेसम्म व्यवस्थित लेखाजोखा भएको छ कि छैन भन्दै उनले प्रश्न गरिन्।
सवारीसाधनबाट निस्कने कालो धुवाँका कारण नागरिकले समस्या भोगिरहेको उनको भनाइ थियो। सवारीसाधनको धुवाँका कारण हुने प्रदूषणबाट कहिले छुटकारा पाइने हो ? भनेर प्रश्न समेत उठाइन्।
कालो धुवाँ फाल्ने सवारीसाधनलाई ५०० रुपैयाँ जरिवानाको सट्टा ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने भनिए पनि कार्यान्वयनमा नआएको भन्दै उनले तत्काल पुराना सवारीसाधन हटाउन गर्न माग गरिन्।
सांसद तामाङले पुराना तथा अत्यधिक धुवाँ फाल्ने सवारीसाधनको व्यवस्थापनसँगै नागरिकलाई स्वच्छ हावामा बाँच्न पाउने वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने बताइन्।
प्रकाशित: ५ आश्विन २०८३ १५:४० सोमबार