पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको कम्युनिस्ट आन्दोलनले धक्का खाएको उल्लेख गर्दै यसलाई पुनः एकताबद्ध र पुनर्जीवित गर्नुपर्ने बताएका छन्।
उनले देशमा देखा परेको निरङ्कुश प्रवृत्तिका विरुद्ध फेरि एकपटक सङ्घर्षमा उत्रिन दृढ सङ्कल्प गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवसका अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो धारणा राखेका हुन्।
कार्यक्रममा बोल्दै दाहालले अहिलेको समय केवल औपचारिक कार्यक्रम पूरा गर्ने मात्र नभई देश र आन्दोलनप्रतिको गम्भीर जिम्मेवारी बोक्ने क्षण भएको बताए।
‘हाम्रो लागि यो श्रद्धाञ्जली सभा औपचारिक कार्यक्रम जस्तो मात्रै होइन। देशमा राष्ट्रिय स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्ने र कम्युनिस्ट आन्दोलनमा देखिएका असाधारण अप्ठ्यारा परिस्थितिको सामना गर्ने सङ्कल्प गर्ने दिन हो,’ उनले भने।
उनले निरङ्कुशताका विरुद्ध दृढ अठोटका साथ सङ्घर्ष गर्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर पुनः देशको नेतृत्व लिने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए।
कम्युनिस्ट आन्दोलनका संस्थापक नेताहरूप्रति श्रद्धा व्यक्त गर्दै दाहालले कर्माचार्यको निष्ठाको प्रशंसा गरे। ‘उमेर ढल्किँदै गएपछि मान्छेहरू दायाँतिर ढल्किन खोज्छन्, तर कमरेड नरबहादुर कर्माचार्य जीवनको अन्तिमसम्म बायाँतिरै ढल्किन खोज्नुहुन्थ्यो,’ दाहालले सुनाए।
उनले कमरेड पुष्पलाल र नरबहादुर कर्माचार्य जस्ता शीर्ष नेताहरूको योगदानलाई स्मरण गर्दै धक्का खाएको कम्युनिस्ट आन्दोलनलाई पुनः जीवित बनाएर देशलाई सही दिशा दिने सङ्कल्प लिनुपर्ने बताए।
प्रकाशित: ९ श्रावण २०८३ १३:४६ शनिबार