समाज

उद्धार र राहतबाट पुनर्स्थापनातर्फ अघि बढ्नुपर्छ : सुमना श्रेष्ठ

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले रसुवामा आएको बाढी प्रभावित क्षेत्रमा अब उद्धार र राहतसँगै पुनर्स्थापना, पुनर्निर्माण र पुनर्जीवनको दीर्घकालीन योजना बनाउनुपर्ने बताएकी छन्। 

सामाजिक सञ्जालमार्फत श्रेष्ठले बाढीपीडितको पीडा शब्दमा व्यक्त गर्न नसकिने भन्दै पीडितको फोटो तथा भिडियो खिचेर सार्वजनिक गर्दा उनीहरूको पीडामाथि थप पीडा त थपिएको छैन भन्ने विषयमा समेत संवेदनशील बन्न आग्रह गरेकी छन्। 

उनले प्रभावितसँग प्रत्यक्ष कुराकानी गर्दा पटक–पटक एउटै कुरा बताउनुपरेको, आफ्नो पीडाका फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको र त्यसका कमेन्टमा समेत आफूहरूले गाली खानुपरेको गुनासो पीडितहरूले गरेको उल्लेख गरेकी छन्।

साथै अहिले प्रभावित नागरिकका मुख्य प्रश्न राहत वितरणभन्दा पनि कहाँ र कति दिन बस्ने, बालबालिकाको शिक्षा कसरी अघि बढाउने तथा अभिभावक गुमाएका बालबालिकाको नागरिकता, पासपोर्टलगायतका कागजात कसरी बनाउने भन्नेमा केन्द्रित छन्।

उनले राज्यका सम्बन्धित संयन्त्रले स्पष्ट ‘रिकभरी स्ट्राटेजी’ बनाएर अघि बढ्नुपर्ने बताएकी छन्। त्यसका लागि सुरक्षित आवासको व्यवस्था, अभिभावकविहीन बालबालिकाको संरक्षण, दीर्घकालीन रोजगारीको सुनिश्चितता तथा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। 

अभिभावक गुमाएका बालबालिकालाई शिक्षा र स्वास्थ्यको व्यवस्था मात्रै गरेर नपुग्ने भन्दै श्रेष्ठले उनीहरूलाई परिवारको अनुभूति दिलाउने गरी फोस्टर केयर र गार्जियनसिप सम्बन्धी व्यवस्थाबारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताएकी छन्। 

त्यस्तै, बाढीपीडितको दीर्घकालीन जीवनयापनका लागि रोजगारी सिर्जना र मानसिक स्वास्थ्य सेवाको निरन्तर व्यवस्था गर्नुपर्ने उनको सुझाव छ। एक–दुई पटकको काउन्सिलिङले मात्रै बाढीबाट सिर्जित मानसिक आघात सम्बोधन नहुने भन्दै उनले दीर्घकालीन मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको योजना तत्काल बनाउनुपर्ने बताएकी छन्। 

श्रेष्ठले जलवायु परिवर्तनका कारण नेपालमा भविष्यमा पर्न सक्ने असरबारे पनि गम्भीर बहस र तयारी आवश्यक रहेको बताएकी छन्। ‘जलवायु परिवर्तनले नेपाललाई कहाँ, कसरी र कति असर गर्छ र त्यसबाट कसरी बच्ने’ भन्ने विषयमा अब पनि गम्भीरतापूर्वक काम नगरे ठूलो चुनौती आउने उनको भनाइ छ। 

प्रकाशित: १३ भाद्र २०८३ १०:४५ शनिबार