संविधानविद् भीमार्जुन आचार्यले भदौ २३ र २४ गतेका घटनाले मुलुकलाई गम्भीर संकटतर्फ धकेलेको बताएका छन्। उनले अहिलेको अवस्थामा देशलाई ‘सुरुङभित्रै सुशासन खोज्ने कि सुरुङबाट जीवितै उद्धार गर्ने’ भन्ने विषयको निर्क्योल गर्नुपर्ने बताएका छन्।
भदौ २३ र २४ गतेको घटनालाई भोटेकोशी बाढीमा सुरुङभित्र मानिस फस्दाको पीडा र त्रासदीसँग तुलना गर्दै आचार्यले क्षतिको यकिन लेखाजोखा हुन नसकेको बताए।
'सुरुङभित्र मान्छे फस्दाको पीडा र त्रासदी भोटेकोशी बाढीमा यसपटक हामीले व्यहोर्यौ। क्षतिको कुनै लेखाजोखा नै छैन। बयासी भदौ २३ र २४ को मानव सभ्यता कै सबै भन्दा क्रुर घटनाले हजारौं वर्षको स्वाभीमान र स्वाधीनता भएको देशलाई क्षणभर मै सुरुङ भित्र पसायो,' सामाजिक सञ्जालमार्फत उनले भने, 'अब सुरुङभित्रै सुशासन खोज्ने वा सुरुङबाट पहिले देशलाई जीवितै उद्धार गर्ने? हाम्रो हातमा छ, त्यसको निर्क्योल हामीले गर्नुपर्छ।'
नेपालको भौगोलिक अवस्थिति मुलुकका लागि वरदान बन्न सक्ने भए पनि त्यसको सदुपयोग हुन नसक्दा अभिशापजस्तो बनेको उनको भनाइ छ।
आचार्यले नेपाललाई टुटाउने, फुटाउने र आपसमा लडाउने प्रयास विगतदेखि नै हुँदै आएको दाबी गर्दै त्यस्ता प्रयासबाट मुलुक जोगिँदै आएको र आगामी दिनमा पनि एकताबद्ध भएर जोगिनुपर्नेमा जोड दिएका छन्। ‘हामी टुट्नु र फुट्नु हुँदैन,’ उनले भने।
भदौ २४ को सन्दर्भमा उनले नेपालजस्तो कुनै पनि मानव बस्ती तथा राष्ट्रिय सभ्यताले भदौ २३ र २४ जस्तो घटना आगामी दिनमा भोग्न नपरोस् भन्ने कामना गरेका छन्।
उनले देशी तथा विदेशी सबै राजनीति न्यूनतम विधि र नियममा आधारित भएर सञ्चालन हुनुपर्नेमा जोड दिँदै मानिसको जीवन र देशको जीवन दुवैको मूल्य रहेको बताएका छन्। ‘मान्छेको जीवन र देशको जीवनको मूल्य हुन्छ, त्यसको सम्मान होस्,’ आचार्यले भनेका छन्।
उनले मुलुकको तत्काल र सकुशल उद्धार आवश्यक रहेको भन्दै देशलाई संकटबाट बाहिर निकाल्न सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए।
प्रकाशित: २४ भाद्र २०८३ ०७:१७ बुधबार