नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले जेनजी आन्दोलनका क्रममा आफ्नी छोरी गंगा दाहालको घरमा अवैध नगद नभेटिएको बयान आयोगलाई दिएका छन्। ‘भदौ २४ गते काठमाडौंमा म बस्दै आएको भाडाको निवास तथा चितवनस्थित घरमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । काठमाडौंमा मेरो आफ्नै घर छैन। मेरी सुपुत्री गंगा दाहालको घरमा अवैध नगद भेटिएको भन्ने प्रचार निराधार हो। न त त्यस्तो नगद भेटिएको छ न त हामीले कुनै अवैध आयस्रोतबाट आम्दानी गरेका छौं,’ दाहालको बयान भन्दै प्रतिवेदनमा राखिएको छ।
भदौ २४ गते सिंहदरबार, शीतल निवास, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न सरकारी तथा निजी भवनहरूमा भएको तोडफोड, आगजनी र लुटपाट केवल सरकारविरुद्धको आक्रोश मात्र नभई व्यवस्थामाथि नै प्रहार गर्ने नियोजित प्रयास भएको दाहालको बयान छ।
‘मेरो पार्टीले जियनजेड आन्दोलनको भावनालाई समर्थन गरे पनि हिंसात्मक गतिविधिमा पार्टीको संलग्नता छैन। यदि हाम्रो पार्टीसँग सम्बन्धित कोही व्यक्ति कानुनविपरीत क्रियाकलापमा संलग्न भएको प्रमाणित भए, उसले कानुनी कारबाही भोग्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ’, उनले भनेका छन्, ‘युवाले भदौ २३ गते नै आन्दोलनमा घुसपैठ भएको भन्दै घर फर्किन आग्रह गरेका थिए। त्यसपछि देखिएको घटनाक्रमले गलत तत्वहरूले युवाको भावनालाई प्रयोग गरेको संकेत गर्छ। प्रधानमन्त्रीका रूपमा मेरो कार्यकालमा नियुक्ति, सरुवाबढुवा प्रक्रियामा मेरिटोक्रेसीलाई प्राथमिकता दिने प्रयास गरेको थिएँ। त्रिभुवन विश्वविद्यालयलगायतका संस्थामा अवलम्बन गरिएको अभ्यास उदाहरणीय रहेको छ।’
प्रकाशित: १२ चैत्र २०८२ ०८:२१ बिहीबार