राजनीति

कांग्रेसको पार्टी कार्यालय बहस र ज्ञानको केन्द्र बनाएका छौंः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले पार्टीको केन्द्रीय कार्यालयलाई बहस र ज्ञानको केन्द्र बनाएको दाबी गरेका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा महामन्त्री थापाले यस्तो दाबी गरेका हुन्। 

‘हामीले अहिले के भनेका छौँ भने, नेपाली कांग्रेसको पार्टी कार्यालय बहसको केन्द्र हुनुपर्छ, ज्ञानको केन्द्र हुनुपर्छ। समाजका विषयहरू पार्टी कार्यालयमा हुनुपर्छ,’ महामन्त्री थापाले भने। समाजका बहस बाहिरबाट तानेर अहिले पार्टी कार्यालयमा पु¥याएको उनले दाबी गरे । उनले भने, ‘हेर्दा सामान्य लागे पनि नेपाल भित्रका जति पनि विषयहरू छन्। चाहे त्यो जलवायु परिवर्तनको विषय होस्,  चाहे त्यो रोजगारीको विषय होस्, चाहे त्यो संविधान संशोधनको विषय होस्, चाहे त्यो उद्यमशीलताको विषय होस् । यी विषयको छलफलको केन्द्र भनेको पार्टीको कार्यालय बनाएका छौँ।’ पार्टी नै यी सबै विषयको समाधान दिने केन्द्र रहेको उनले बताए। 

पार्टी कार्यालयमा यस्ता बहस चलिरहेकाले पार्टी सभापति शेरबहादुर देउवा नै हप्तामा दुई तीन दिन पार्टी कार्यालय धाइरहेको महामन्त्री थापाले बताए। ‘अहिले सभापतिजीले हप्ताको दुइटा तीनटा कार्यक्रममा उपस्थित हुनुहुन्छ,’उनले भने ,‘पार्टी कार्यालयमा जे हामी विषयमा छलफल गर्छौं। यो किन हुन सक्यो भने यो महामन्त्रीहरूले चाहँदाखेरि गर्न सक्ने काम थियो।’ 

प्रकाशित: ११ भाद्र २०८२ १९:३६ बुधबार