राजनीति

हामी फेरि एक नम्बर शक्ति बन्यौं, भुइँफुट्टाहरूको ‘स्टन्टबाजी’ चल्दैन: दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले १६ वटा साना–ठूला वामपन्थी घटकको एकतापछि आफ्नो पार्टी देशको एक नम्बर शक्ति बनेको दाबी गरेका छन्।

शनिबार भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्दै उनले वैकल्पिक राजनीतिको नाममा उदाएका नयाँ शक्तिहरू विचार नभएका भुइँफुट्टा र स्टन्टबाज भएको बताए। उनीहरुको कुनै इतिहास नभएको दाहालको तर्क थियो।

माधव नेपाल, झलनाथ खनालसहितका नेताहरूलाई मञ्चमा राखेर सम्बोधन गर्दै दाहालले सामाजिक सञ्जालको भरमा राजनीति गर्नेहरूले बलिदानको इतिहास बोकेको पार्टीलाई हेप्ने दुस्साहस गरेको टिप्पणी गरे।

दाहालले २५० वर्ष पुरानो राजतन्त्र ढाल्ने शक्ति आफूहरू नै भएको स्मरण गराउँदै यो शक्तिलाई कमजोर नठान्न चेतावनी दिए।

उनले भने, ‘केही भुइँफुट्टाहरू, जसको विचारको जग पनि छैन, त्यागको इतिहास पनि छैन, निष्ठा पनि छैन, त्यसले बडो सजिलैसँग हामीलाई हेप्ने दुस्साहस गरेको देख्छु म। खबरदार ! याद गर्नुहोला, हामी तिनै हौं जसले २५० वर्ष पुरानो राजतन्त्र अन्त्य गरेर गणतन्त्र ल्याएका थियौं।’

उनले अगाडि थपे, ‘यो शक्तिलाई फेरि जिस्क्याइयो र संविधानसँग खेलबाड गरियो भने यो शक्ति सडकमा आउनेछ।’

दाहालले नयाँ दल र स्वतन्त्रहरूप्रति निकै आक्रामक अभिव्यक्ति दिए। उनले विचार र राजनीतिक एजेन्डा बिना केवल उमेर समूह (जेन–जी) को नाम भजाएर र सोसियल मिडियामा ‘स्टन्ट’ गरेर भ्रम छरिएको आरोप लगाए।

‘कोही स्टन्टबाजको होहल्लाको पछि नलाग्नुस्, कसैले स्टन्टबाजी नगरे हुन्छ,’ प्रचण्डले भने, ‘न कुनै इतिहास छ, न सुविचारित विचार छ। सोसियल मिडियामा स्टन्ट गरेकै भरमा जनतालाई भ्रमित पार्ने रोग जस्तै लागेको छ। तर नेपाली कम्युनिस्ट पार्टी त्यस्तो स्टन्टबाजीबाट होइन, विचार र वर्ग संघर्षबाट आएको हो।’

दाहालले नेपालको इतिहासमै पहिलोपटक एकैसाथ १६ वटा कम्युनिस्ट र समाजवादी घटकहरू एकताबद्ध भएको सुनाए।

‘हामीले नेपालको इतिहासमा पहिलो पटक एकैसाथ १६ वटा कम्युनिस्ट घटकहरू, समाजवादी र अन्य समूहहरूलाई एकताबद्ध गरेका छौँ,’ उनले भने, ‘अब हामी नेपालमा एक नम्बर कम्युनिस्ट पार्टी भइनै सकेका छौं। कसैले भ्रम नपाले हुन्छ।’

प्रकाशित: ५ पुस २०८२ १६:२० शनिबार