राजनीति

राजतन्त्र र हिन्दुराष्ट्र हामीले उन्मूलन गरेका हौँ : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपालबाट राजतन्त्र र हिन्दुराष्ट्र आफूहरूले उन्मूलन गरेको बताएका छन्। 

उनले नेपाललाई पुनः धार्मिक राज्य बनाउने प्रयास गर्नु घातक हुने भन्दै धर्म व्यक्तिको व्यक्तिगत आस्थाको विषय भएकाले राज्य कुनै एक धर्मको पक्षमा उभिन नहुने बताएका हुन्। 

खनालले नेपालमा हिन्दु, बौद्ध, किराँतलगायत विभिन्न धर्म तथा समुदायका आस्था र विश्वास रहनुको साथै धर्मका आधारमा राज्य निर्माण गर्न नहुने बताए। 

‘धर्म भनेको मान्छेको व्यक्तिगत आस्थाको कुरा हो। यो देशमा हिन्दु धर्म मान्ने पनि छौँ, बुद्ध धर्म मान्ने पनि छौँ, किराँत धर्म मान्ने पनि छौँ,’ उनले भने, ‘त्यसैले ती धर्महरूको आधारमा राज्य बन्दैन, बनाउन हुँदैन।’ 

राज्य कुनै एक धर्मको पक्षमा लाग्दा समाजमा  द्वन्द्व सिर्जना हुने र त्यसले सामाजिक संचनामा असर पर्ने भन्दै उनले राज्यले सबै धर्मप्रति समान व्यवहार गर्नुपर्ने बताए। 

‘राज्य नै एउटा धर्मको पक्षमा लाग्यो भने के हुन्छ ? कुनै पनि बेला जे पनि हुन सक्छ,’ उनले भने।   

प्रकाशित: ७ भाद्र २०८३ ११:०९ आइतबार