राजनीति

वेगको वाचा मात्र गर्दैनौं, दुर्घटना हुन नदिने जिम्मा पनि लिन्छौं: गगन

नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर-४ का उम्मेदवार गगन थापाले मुलुकलाई वेगमा मात्र नभई सुझबुझपूर्ण ढंगले अघि बढाउने बताएका छन्।

काठमाडौं क्षेत्र नम्बर-४ मा मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्।

थापाले अहिले चलिरहेको नयाँ र पुरानो दलबीचको भाष्यसँग आफू असहमत रहेको सुनाए। उनले लोकतन्त्रमा को बढी शुद्ध, को नयाँ वा को पुरानो भन्ने बहसले मुख्य राजनीतिक विमर्शलाई ओझेलमा पारेको टिप्पणी गरे।

‘परिपक्व लोकतन्त्रमा पनि पपुलिजम र सोसल मिडियाको उदयपछि तथ्य र प्रमाणको साटो भावनामा बहकाउने काम भइरहेको छ,’ उनले भने, ‘कहीँ जात, कहीँ धर्म र हामीकहाँ नयाँ-पुरानोको बहस छ। यो लोकतन्त्रमा निर्वाचनको एजेन्डा हाइज्याक हुनु हो।’

उनले अगाडि थपे, ‘को बढी सेतो, को बढी कालो वा को बढी शुद्ध भनेर एउटा धर्कोमा मान्छे खोज्ने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक हुन्छ। लोकतन्त्र बहुआयामिक हुनुपर्छ।’

सभापति थापाले कांग्रेसले २०४८ सालमा लिएको उदार आर्थिक नीतिलाई परिमार्जनसहित अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। अब बन्ने ५ वर्षको संसद र सरकारबाट सुशासन तथा विकासको ठोस नतिजा दिने उनको दाबी छ।

देशलाई अघि बढाउन गति मात्र नभई संयमता पनि आवश्यक रहेको उनले औंल्याए। उनले भने, ‘वेगमा कुद्नु जति आवश्यक छ, दुर्घटनाबाट जोगाउनु पनि उत्तिकै आवश्यक छ। हामी वेगको वाचा मात्र गर्दैनौं, दुर्घटना हुन नदिने वाचा पनि सँगै गर्छौं।’

आफ्नो उम्मेदवारी रहेको सर्लाही क्षेत्र नम्बर-४ मा भएको सामान्य विवाद हल भइसकेको थापाले जानकारी दिए। सञ्चारकर्मीको जिज्ञासामा उनले बिहान केही तनावको खबर आए पनि दलहरू बसेर सौहार्दपूर्ण वातावरण बनाइसकेको सुनाए।

‘विगतमा सर्लाहीलाई निर्वाचनका बेला अत्यधिक तनाव र झडप हुने क्षेत्रका रूपमा लिइन्थ्यो,’ उनले भने, ‘तर यसपटक म त्यहाँ गएपछि प्रचारप्रसार र निर्वाचन प्रक्रिया एकदमै मर्यादित भएको छ। पुराना कथाहरू यसपटक दोहोरिएका छैनन्।’

थापाले मतदान गर्दा आफूलाई आनन्द महसुस भएको बताएका छन्। कुनै बेला आफूलाई मत दिएर सांसद बनाउने मतदातालाई नै आज आफूले मत दिएर संसदमा पठाउन पाउँदा खुसी लागेको उनले बताए।

प्रकाशित: २१ फाल्गुन २०८२ १०:५३ बिहीबार