राजनीति

पार्टी छाडेकाहरुलाई भोलि नै फर्काउन सक्छौंः राप्रपा उम्मेदवार थापा

राष्टिय प्रजातन्त्र पार्टी भक्तपुरका सचिव एवं भक्तपुर क्षेत्र नं २ का उम्मेदवार विक्रम थापाले आफनो पार्टी छाडेर एमाले प्रवेश गरेका भनिएका साथीहरुलाई आफूहरुले चाहे भोलि नै पार्टीमा फर्काउन सक्ने दावी गरेका छन् ।  

स्वतन्त्र पत्रकार संघ भक्तपुरले बिहीबार उनीसँंग गरेको साक्षात्कारमा उनले सिद्धान्त नभई पद र पैसाकै कारण पार्टी छोडेर गएकाले आफूहरुले चाहे त्यस्तालाई तुरन्त फर्काउन सक्ने दावी गरे ।  

उनले भने, जीवनभर राजा, हिन्दु राज्यको पक्षमा लागेर एकछिनको स्वार्थका लागि गएका साथीहरु एमालेमा धेरै दिन टिक्दैन । केही नगरेपछि नैतिकताको आधारमै उनीहरु आफैं फर्किन्छन् ।  

चुनावको मुखमा राष्टिय प्रजातन्त्र पार्टी मध्यपुर थिमि नगर समितिका पूर्व अध्यक्ष भुवन बागको संयोजकत्मा २५ जना राप्रपा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेको खवर बुधबार सार्वजनिक भएको थियो । बागको नेतृत्वमा पार्टीका पूर्व नगर कोषाध्यक्ष सलिम पुजारी, पूर्व सचिव मानबहादुर राजबाहक सहित २५ सदस्यीय टोली एमाले प्रवेश गरेको विषय  सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएको थियो ।  

मैले चाहे भने भोलि नै उहाँंहरु फर्किनुभयो भनेर फोटो खिचेर राख्न सक्छु, उम्मेदबार थापाले कार्यक्रममा भने । कार्यक्रममा उम्मेदबार थापाले चुनावमा आफनो पार्टी र आफनो प्रतिवद्धता सार्वजनिक गरेका थिए ।

प्रकाशित: १४ फाल्गुन २०८२ १७:३१ बिहीबार