राजनीति

५४ प्रतिशत प्रतिनिधिको सम्मान गर्न विशेष महाधिवेशनमा आयौं: पुष्पा भुसाल

नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको सम्मानका लागि आफूहरू कार्यक्रममा सहभागी भएको बताएकी छन्।

आइतबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै भुसालले विशेष महाधिवेशनको पक्षमा खुलेका संस्थापन (देउवा) पक्षका केन्द्रीय सदस्यहरूको तर्फबाट आफ्नो धारणा राखेकी हुन्।

उनले पार्टीमा देखिएको समस्या समाधानका लागि शीर्ष नेताहरूको घरदैलोमा पुग्दा पनि कुनै निकास ननिस्किएपछि बाध्य भएर विशेष महाधिवेशनमा आउनुपरेको सुनाइन्।

‘हामी निकास खोज्न नेताहरूको घर-घरमा पुग्यौँ, तर निराश भएर फर्कनुपर्‍यो,’ भुसालले भनिन्, ‘त्यसैले ५४ प्रतिशतभन्दा बढी प्रतिनिधि साथीहरूको भावनाको सम्मान गर्न हामी यहाँ आएका छौँ।’

उनले पार्टीको विधानभन्दा माथि कोही पनि नेता र कार्यकर्ता हुन नसक्ने भन्दै यो उपस्थितिले विधि र विधानको पालना गर्नुपर्ने सन्देश दिएको बताइन्।

प्रकाशित: २७ पुस २०८२ १७:२१ आइतबार