नेपाली कांग्रेसका युवा सांसद योगेश गौचन थकालीले राजनीतिक यात्रामा आफू निरन्तर सिक्ने विद्यार्थीका रूपमा रहने बताएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा प्रधानसम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
मुस्ताङबाट दोस्रो पटक निर्वाचित भएका थकालीले यसअघिको कार्यकालमा पूर्ण रूपमा काम गर्न नपाएको गुनासो गर्दै यसपटक भने परिपक्व र खारिएर संसदमा प्रस्तुत हुने प्रतिबद्धता जनाए।
‘मेरा हजुरबुबा र पिताबाटै राजनीतिक दर्शन सिकेको हुँ। उहाँहरूले जहिले पनि हामी अन्तिम श्वास रहेसम्म सिक्ने विद्यार्थी हौं भन्नुहुन्थ्यो,’ थकालीले भने।
अघिल्लो कार्यकालमा सिक्ने मौका पाए पनि पूर्ण समय काम गर्न नपाएको उनको भनाइ छ।
अहिले संसदमा नयाँ अनुहारहरूको बाक्लो उपस्थिति रहेको सन्दर्भमा उनले लोकतन्त्रमा सबै दलका सांसदहरू मिलेर काम गर्नुपर्नेमा जोड दिए। ‘अहिले संसदमा युवा सांसदहरूको राम्रो उपस्थिति छ, यसले नयाँ ऊर्जा दिएको छ,’ उनले थपे।
उनले आफू शक्तिशाली र लोकप्रिय हुनुभन्दा पनि एक कुशल र इमानदार नेतृत्वकर्ता बन्ने लक्ष्यमा रहेको सुनाए।
संसदमा युवा प्रतिनिधित्व बढिरहेको र यसले राजनीतिक परिदृश्यलाई नै बदल्न सक्ने उनको विश्लेषण छ। देशको आर्थिक समृद्धिका लागि अब युवा पुस्ताले परिणाममुखी काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘जनताले हामीलाई अन्तिम विकल्पको रूपमा हेरेका छन्, त्यसैले हामीले भाषणमा मात्र सीमित नभएर परिणाममुखी काम गर्नुपर्छ।’
थकालीले प्रतिपक्षी बेन्चमा बसेर पनि आफूले वाचडगको भूमिका सशक्त रूपमा निर्वाह गर्ने बताएका छन्। उनले भने, ‘सरकारले गरेका कामहरूको आलोचना मात्र होइन, सकारात्मक कामको समर्थन पनि गर्नुपर्छ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई पनि उनले लोकतन्त्रको सुन्दर पक्षका रूपमा लिएका छन्। ‘उहाँहरूको आगमनले हामीलाई पनि नयाँ ऊर्जा र चुनौती थपेको छ, अब हामी सबै मिलेर देश निर्माणमा लाग्नुपर्छ,’ उनले भने।
प्रकाशित: २५ चैत्र २०८२ २०:०७ बुधबार