राजनीति

रास्वपाको सरकारलाई सघाउन तयार छौं: झाँक्री

नवनिर्वाचित राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा बन्ने आगामी सरकारलाई सघाउन आफूहरू तयार रहेको बताएकी छन्।

सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन्।

रास्वपाका तर्फबाट बालेन्द्र शाहको नेतृत्वमा सरकार बन्ने चर्चा चलिरहेका बेला सांसद झाँक्रीले राष्ट्र र जनताको पक्षमा हुने हरेक काममा पूर्ण सहयोग गर्ने प्रस्ट पारिन्।

उनले भनिन्, ‘सरकारका राष्ट्र र जनताको पक्षमा हुने हरप्रकारका कदमहरूमा राष्ट्रिय सभा कहाँनेर सहयोगी बन्नुपर्छ, त्यहाँ हामी सहयोगीकै भूमिका निर्वाह गर्छौं। उहाँहरूलाई काम गर्नका लागि हामीले पूरापूर सहयोग गर्छौं।’

साथै,  उनले सरकारको कामकारबाहीमाथि निरन्तर खबरदारीसमेत गर्ने बताइन्।

‘जतिबेलासम्म राष्ट्र र जनताको हितमा काम हुँदै जान्छन्, त्यतिबेलासम्म हामी सहयोगीकै रूपमा रहनेछौं। तर, सहयोगीसँगसँगै हामी एउटा ‘वाचडग’ र खबरदारीको काम पनि गर्छौं किनकि यो देश र जनताप्रति हामी पनि जिम्मेवार छौं। यो हामी सबैको साझा धर्ती हो।’

सञ्चारकर्मीले रास्वपाले दुई तिहाइ बहुमत ल्याएर संविधान संशोधनमार्फत राष्ट्रिय सभा नै खारेज गर्ने एजेन्डा अघि सारिरहेको सन्दर्भमा उनको कार्यकालको विषयलाई लिएर प्रश्न गरेका थिए। यस विषयलाई लिएर उनले यो कुनै व्यक्तिगत मामिला नभएको टिप्पणी गरेकी छन्।

संविधानमा उल्लेख गरिएका अपरिवर्तनीय प्रावधानबाहेक अन्य सबै विषय परिवर्तनशील रहेको र त्यसमा आवश्यक परे छलफल हुन सक्ने उनले बताएकी छन्।

उनले थपिन्, ‘यो व्यक्तिगत मामिला होइन। राष्ट्र र जनताको पक्षमा हुने, संविधानसम्मत हर चिजहरू परिवर्तनशील छन्। संविधानका केही अपरिवर्तनीय धाराबाहेक सबै प्रावधानहरू परिवर्तन हुन्छन्। संविधानमा के चिज अपरिवर्तनीय भनेर लेखेकै छ। त्यसकारण यी सबै विषयमा छलफल हुन सक्छ। छलफलले एउटा आकार लिन पनि सक्छ, त्यो भोलि छलफलकै विषय हो।’

प्रकाशित: २५ फाल्गुन २०८२ १६:०४ सोमबार