राजनीति

हामी राजनीति सिक्न तयार छौं, अराजकता,असहिष्णुता हैन : निश्कल राई

नेपाली कांग्रेसका सचेतक निश्कल राईले आफूहरू राजनीति सिक्न तयार रहेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले गृहमन्त्री सुधन गुरुङले आफूहरू राजनीति सिक्न नभई सिकाउन आएको भनेर दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै प्रतिपक्षमा रहेका सबै दल सिक्न तयार रहेको बताएका हुन्। 

‘मन्त्रीज्यूहरूको वक्तव्य पनि सुनियो। हामी सिकाउन आएका हौं भन्ने पनि सुनियो,’ राईले भने, ‘हामी सिक्न तयार छौं। हामी प्रतिपक्ष सबै दल सिक्न तयार छौं।’  

जेनजी शहीद दिवसका अवसरमा गृहमन्त्री गुरुङले आफूहरू राजनीति सिक्न नआएको, बरु राजनीति सिकाउन आएको बताएका थिए। त्यसको जवाफ दिँदै राईले आफूहरू संस्कार, विधि, प्रक्रिया र पद्धति सिक्न तयार रहेको बताए।  

‘हामी संस्कार सिक्न चाहन्छौं। विधि, प्रक्रिया र पद्धति सिक्न चाहन्छौं। विधानसंगत कुरा सिक्न चाहन्छौं। सहिष्णुता सिक्न चाहन्छौं। सिद्धान्त सिक्न चाहन्छौं,’ उनले भने।

तर अराजकता, साइबर बुलिङ, असहिष्णुता, पूर्वाग्रह, भ्रम र अहंकार भने आफूहरू सिक्न नआएको उनले बताए। उनले अराजकता, साइबर बुलिङ र असहिष्णुता, पूर्वाग्रह, भ्रम र अहंकार सिक्न नआएको बताउँदै विवादित धर्मगुरुहरूको संगत समेत सिक्न आएको बताए। 

प्रकाशित: २५ भाद्र २०८३ १६:५५ बिहीबार