राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले संघीय लोकतान्त्रीक मोर्चाले चाँडै काठमाण्डौं केन्द्रित आन्दोलन गर्ने तयारी गरिरहेको बताएका छन् । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी महतोले मोर्चाले चाँडै काठमाण्डौं केन्द्रित आन्दोलन गर्ने तयारी गरिरहेको बताएका हुन् ।
महतोले संविधान निर्माण गर्दा कांग्रेस, एमाले र माओवादीले घात गरेको बताए । उनले नाम मात्रको संघीयताले मधेसी, जनजाती, आदिवासी पिछाडि पारिएका समुदायको माग सम्बोधन गर्न नसकेको धारणा राखे । महतोले विगतमा भएका विभिन्न आन्दोलनमा जनताले अधिकार र पहिचान विहीन संघीयता नमागेको बताए । ‘ नाममात्रैको संघीयताले विगतका आन्दोलनमा जनताले उठाएका माग सम्बोधन भएनन्’ महतोले भने‘अब, संघीय लोकतान्त्रीक मोर्चाले काठमाण्र्डौ केन्द्रित आन्दोलन गरेर बहुराष्ट्रिय पहिचानसहितको अधिकार सम्पन्न संघीय व्यवस्था स्थापना गर्नेछ ।’
बहुराष्ट्रिय पहिचानसहितको अधिकार सम्पन्न संघीय व्यवस्था स्थापना पछिमात्रै आफूहरूको माग सम्बोधन हुने उनले बताए । महतोले नेपाल ग्लोबल सेक्यूरिटि ईनिसिएटिभ (जिएसआई) सैन्य गठबन्धनमा सामेल भएको कुरा नेपालको असंलग्न पराष्ट्र नीति विपरित रहेको बताए ।
प्रधानमन्त्री केपि शर्मा ओलीको हालैसम्पन्न चिन भ्रमणपछि त्यहाँको सरकारले सार्वजनिक गरेको सूचनामा नेपाल जिएस्आइको अंग बनेको कुरा सार्वजनिक भएको महतोले बताए । उनले जीएसआई सैन्य गठबन्धन जस्तो अंग भएको र त्यो नेपालको असंलग्न पराष्ट्र नीति विपरित भएको दाबी गरे । चीन सरकारले त्यस प्रकारको सूचना जारी गरिरहँदा प्रधानमन्त्री वा नेपाल सरकारबाट त्यसको पुष्टि वा खण्डन नभएको बताए ।
चीन सरकारले सार्वजनिक गरेको सूचना सत्य भए यो कदम भत्र्सना योग्य रहेको महतोको भनाई छ । यो विषयमा प्रधानमन्त्री र सरकारले तत्काल वास्तविकता सार्वजनिक गर्नुपर्ने महतोको माग छ ।
प्रकाशित: १७ भाद्र २०८२ २०:०० मंगलबार