राजनीति

निर्वाचनको पक्षमा छौं, तर हुन्छ भन्नेमा विश्वस्त छैनौं: विष्णु पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी सधैं निर्वाचनको पक्षमा रहे पनि तोकिएको मितिमा चुनाव हुनेमा आश्वस्त हुन नसकिएको बताएका छन्।

शनिबार बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारको फितलो तयारी र आवश्यक वातावरणको अभावका कारण निर्वाचनप्रति आशंका उब्जिएको बताएका हुन्।

उपाध्यक्ष पौडेलले निर्वाचनको मिति नजिकिँदै गर्दा पनि सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण निर्माणमा ध्यान नदिएको आरोप लगाए।

‘निर्वाचन तोकिएकै मितिमा होस्, तर भयरहित वातावरणमा निष्पक्ष र स्वतन्त्र ढंगले होस्,’ पौडेलले भने, ‘सबै मतदाताले निर्भयताका साथ भाग लिन सकून् र सबै दलले प्रतिस्पर्धा गर्न सकून् भन्ने हाम्रो चाहना हो। तर, त्यो अनुसारका कामहरू अहिले भइरहेका छैनन्।’

उनले एमाले निर्वाचनबाट नभाग्ने तर सरकारका गतिविधिले तोकिएकै समयमा चुनाव हुने आधार नदेखिएको जिकिर गरे। पौडेलले निर्वाचनसँग जोडिएका कामहरूलाई तीव्रता दिन र शंका निवारण गर्ने गरी तयारी अघि बढाउन सरकारलाई आग्रह समेत गरेका छन्।

प्रकाशित: १९ पुस २०८२ १६:४० शनिबार