श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ तुइन विस्थापन गरी पुल निर्माणको वस्तुस्थिति बुझ्न हुम्ला प्रस्थान गरेका छन्।
काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष साम्पाङले सुर्खेत हुँदै हुम्ला जान लागेको जानकारी दिए। धरानबाट सडकमार्ग हुँदै जाँदा करिब सात दिन लाग्ने भएपछि आफू हवाईमार्ग रोजेर निस्किएको उनले बताए।
हुम्ला जानुको मुख्य उद्देश्य तुइन रहेको ठाउँमा पुल निर्माण गर्नु नै रहेको उनको भनाइ छ। सो स्थानमा ‘कादुरी’ नामक विदेशी संस्थाले पुल बनाउने चर्चा चलेको बताउँदै उनले भने, ‘त्यहाँ कादुरीले पुल बनाउने कुरा आएको छ, तर हामी आफैँ पुगेर हेर्छौं। एक पटक जान्छु भनेपछि त्यहाँ पुगेर के गर्न सकिन्छ, त्यो हेर्नैपर्छ।’
आसन्न निर्वाचन र संगठन विस्तार छाडेर पुल निर्माणमा किन लागेको भन्ने प्रश्नमा उनले आफूलाई परम्परागत नेताको रूपमा नहेर्न आग्रह गरे।
‘धेरै नेताहरू दुर्गममा जान सक्दैनन्, म त नेता नै होइन,’ उनले भने, ‘हामीलाई अरूले के गर्छ भन्नेभन्दा पनि जनताका लागि पुल-पुलेसा, विद्यालय र गरिबका लागि घर बनाउने काम महत्त्वपूर्ण लाग्छ।’
विकास निर्माणको काम सरकारको मात्रै दायित्व हो कि भन्ने सवालमा उनले सरकारको मुख मात्रै ताकेर बस्ने प्रवृत्तिको विरोध गरे। सरकारको मात्रै भर पर्ने हो भने नागरिकको दायित्व केही पनि बाँकी नरहने तर्क गर्दै उनले श्रम संस्कृतिको महत्त्वलाई जोड दिए।
हुम्लामा आफ्ना श्रमदाताहरू पहिलेदेखि नै रहेको र उनीहरू आफूलाई पर्खिरहेकाले त्यहाँ पुगेर उनीहरूसँग समेत भेटघाट तथा छलफल गर्ने साम्पाङले जानकारी दिए।
प्रकाशित: ८ कार्तिक २०८३ १६:१९ आइतबार



