राजनीति

आगजनी गर्नेको बयान लिइयो? आयोगलाई ओलीको प्रश्न

जेनजी आन्दोलनका बखत प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा  ओलीले आन्दोलनका क्रममा राज्यका महत्वपूर्ण निकायमा भएको आगजनी र तोडफोडमा संलग्न व्यक्तिहरूको बयान नलिइएको भन्दै छानबिन आयोगप्रति गम्भीर प्रश्न उठाएका छन्।

जेन–जी आन्दोलनका बखत प्रधानमन्त्री रहेका एमाले अध्यक्ष ओलीले जाँचबुझ आयोगसमक्ष दिएको बयानमा सिंहदरबार र सर्वोच्च अदालतजस्ता संवेदनशील संरचनामा मिसिल खोजीखोजी जलाइएको उल्लेख गर्दै त्यसमा संलग्नहरूसँग आयोगले बयान लिएको छ कि छैन भन्ने जिज्ञासा राखेका हुन्।

‘देशको प्रशासनिक केन्द्र सिंहदरबार र न्याय निरूपणको थलो सर्वोच्च अदालतमा मिसिल खोजीखोजी जलाइयो, त्यसमा संलग्नहरूको बयान आयोगले लिएको छ?’ भन्ने प्रश्न ओलीको भनाइका रूपमा प्रतिवेदनमा उद्धृत गरिएको छ।

यस्तै, उनले तोडफोड र आगजनीमा संलग्न जो–कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखेका छन्।

यसै सन्दर्भमा ओलीले सुरक्षाकर्मीको दमनका विषयमा प्रधानमन्त्री प्रत्यक्ष जवाफदेही नहुने तर्क पनि अघि सारेका छन्। उनका अनुसार सुरक्षाकर्मी परिचालन र निर्देशनको जिम्मेवारी गृह मन्त्रालयको हुने भएकाले त्यससम्बन्धी निर्णयमा प्रधानमन्त्री प्रत्यक्ष रूपमा संलग्न नहुने बताए।‘प्रधानमन्त्रीले प्रहरीलाई सिधै आदेश दिने होइन, त्यसका लागि गृह मन्त्रालय नै जिम्मेवार निकाय हो,’ उनले भनेका छन्, ‘त्यसैले यस विषयमा प्रधानमन्त्रीलाई जवाफदेही बनाउन मिल्दैन।’

प्रकाशित: १२ चैत्र २०८२ ०९:१४ बिहीबार