राजनीति

सरकारलाई चेतावनी दिँदै ओलीले भने- जनताले पाँच वर्ष मनलाग्दी गर्न लाइसेन्स दिएका होइनन्

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार स्वेच्छाचारी र अधिनायकवादी बन्दै फासीवादतर्फ अघि बढेको आरोप लगाएका छन्।

सरकार गठनसँगै गरिब, सुकुम्बासी, ट्रेड युनियन र कर्मचारीतन्त्रमाथि आक्रमण सुरु भएको भन्दै उनले पाँच वर्ष जे पनि गर्न पाउने लाइसेन्स जनताले सरकारलाई नदिएको बताए।

प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी कुवेतको पाँचौं अधिवेशनलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकमा संविधान मिचिएको र लोकतन्त्र अपहरित अवस्थामा पुगेको जिकिर गरे।

देशलाई कानुनी राजमा फर्काउन र लोकतन्त्र पुनर्स्थापित गर्न प्रतिगमनविरुद्ध संघर्ष गर्नु अहिले राष्ट्रिय आवश्यकता बनेको उनको भनाइ छ।

गत वर्ष भदौ २३ र २४ गते नेपाली सभ्यतामै कहिल्यै नभएको विध्वंश मच्चाइएको चर्चा गर्दै अध्यक्ष ओलीले त्यस घटनाले अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि लज्जास्पद बनाएको बताए।

‘विगतका कुनै पनि आन्दोलनमा यस्तो विध्वंश भएको थिएन,’ उनले भने, ‘अहिले सत्ता प्राप्तिका लागि राज्यका तीनै अङ्ग, दलका नेता/कार्यकर्ताका घर जलाइए र योगदान गरेका नेतामाथि आक्रमण भयो।’

पार्टी नेतृत्व परिवर्तनको चर्चालाई अध्यक्ष ओलीले असान्दर्भिक भने। अध्यक्ष हटाउने हल्ला बलेसीको पानीको फोकाजस्तै भएको सुनाए। आफू केवल भोटबाट निर्वाचित अध्यक्ष मात्र नभई ५७ वर्षअघि पार्टी निर्माणदेखि जेलनेल, भूमिगत जीवन र अन्तर्राष्ट्रिय प्रहारका बीच संगठन जोगाएर ल्याएको नेतृत्व भएको उनले स्मरण गराए।

पार्टीभित्र कसैले हरेश खाँदैमा संगठन कमजोर नहुने बताउँदै उनले भने, ‘एमालेका कमिटीहरू जस्ताको तस्तै छन्, कार्यकर्ता जहाँको तहीँ छन्। एमालेले पहिलेकै अवस्थामा फर्कने दरो सामर्थ्य राख्छ।’ आगामी केन्द्रीय कमिटी बैठकपछि पार्टी थप एकताबद्ध भएर अघि बढ्ने उनले दाबी गरे।

यसैगरी, गएको निर्वाचनमा सामाजिक सञ्जालमा आएको बेठीक कुराको बाढीले डायस्पोरामा समेत भ्रम सिर्जना गरेको उल्लेख गर्दै उनले सो भ्रम चिर्न र सत्यको मार्ग देखाउन प्रवासी मञ्चलाई आग्रह गरे।

प्रकाशित: ६ भाद्र २०८३ १४:३४ शनिबार