राजनीति

महेशको चेतावनी: ‘विद्या कमरेड’का नाममा पार्टी कमजोर पार्ने काम बन्द गरौँ

नेकपा एमालेका नेता महेश बस्नेतले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा पार्टीलाई कमजोर पार्ने काम बन्द गर्न चेतावनी दिएका छन्। एमालेको जारी पोलिटब्युरो बैठकमा शनिबार आफ्ना कुरा राख्दै बस्नेतले यस्तो चेतावनी दिएका हुन्। 

‘विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौँ,’ बस्नेतले भने । उनले आफूले बैठकमा राखेको धारणा फेसबुकमार्फत सार्वजनिक पनि गरेका छन्।

‘विद्या कमरेड राष्ट्रपतिसम्मको गरिमा र जिम्मेवारी लिनुभएको व्यक्ति हो। सक्रिय पार्टी पङतिमा फर्केर त्यो मर्यादा मेट्ने इथिकल र प्रक्रियागत  गल्ती गर्नुहुन्न,’ बस्नेतले भनेका छन्, ‘जुन कुरा लोकतन्त्र र आन्तरिक जनवाद दुवैसँग मेल खाँदैन । पार्टीको पदीय दायित्व छनोट चाहनाले मात्र होइन, विधिसम्मत प्रक्रियाले हुन्छ।’ 

यस्तै भण्डारीले पार्टी सदस्यता नवीकरण गर्दा पूर्व राष्ट्रपतिको हैसियत के हुन्छ? भनेर प्रश्न पनि गरेका छन्। ‘नयाँ सदस्यता लिने प्रक्रिया उहाँलाई आवश्यक छ कि छैन ? यती गम्भीर विषय लहडमा होइन, केन्द्रीय कमिटीको निर्णयले मात्र गर्नु पर्दछ,’ बस्नेतले भनेका छन्। 

प्रकाशित: ३ श्रावण २०८२ १६:३४ शनिबार

#NagarikNews #Mahesh Basnet #Bidya Bhandari #CPN (UML)