राजनीति

कांग्रेस १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आज पनि जारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज (मंगलबार) पनि हुँदैछ।

सहमति हुन बाँकी रहेका र प्रक्रियामा रहेका केही वडाहरूको अधिवेशन आज हुने भएको हो। गत शनिबार र आइतबार बाढी प्रभावित तीन जिल्लाहरू बाहेक अधिकांशमा अधिवेशन भएकामा सहमति हुन बाँकी रहेका वडाहरूमा त्यसपछिका दिनमा निरन्तर अधिवेशन भइरहेको हो।

रसुवा, धादिङ, नुवाकोट तथा असोज ५ गते सम्पन्न हुन बाँकी रहेका वडाहरूको अधिवेशन आज पनि जारी रहने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। 

गत असोज ३ गते शनिबारदेखि जारी रहेको अधिवेशनमा हालसम्म ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ।

धनुषा क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, अछामका तीन वटा वडा, नवलपरासी क्षेत्र नम्बर २, डडेल्धुराका चार वटा वडा, रुपन्देहीका तीन वडा, महोत्तरीका आठ वडा, सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, रौतहट क्षेत्र नम्बर १ तथा सर्लाही क्षेत्र नम्बर २ का वडाको अधिवेशन अन्तिम चरणमा रहेका समितिले जनाएको छ।

प्रकाशित: ६ आश्विन २०८३ ०६:५७ मंगलबार