राजनीति

मतदाता नामावली अद्यावधिक चैत २२ गतेदेखि

निर्वाचन आयोगले स्थगन गरिएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सञ्चालनमा ल्याउने भएको छ। 

आयोगको आज बसेको बैठकले मङ्सिर ६ गतेदेखि रोकिएको उक्त कार्यक्रम चैत २२ गतेदेखि पुनः सुचारू गर्ने निर्णय गरेको हो।

आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका नेपाली नागरिकहरूले आफ्नो परिचयपत्रको विवरण प्रयोग गरी अनलाइन प्रणालीमार्फत नै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने छन्। 

त्यस्तैगरी  राष्ट्रिय परिचयपत्र प्रणालीमा आवद्ध नभएका नागरिककाे हकमा भने आयोगले उपलब्ध गराएको प्रि-इनरोलमेन्ट प्रणालीमार्फत अनलाइन फाराम भरेपछि फोटो, औंठाछाप लगायतका जैविक विवरण दिन सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने व्यवस्था कायम गरिएको छ। 

साथै मतदाता नामावलीमा रहेका विभिन्न त्रुटिहरू सच्याउने व्यवस्था पनि अनलाइन मार्फत उपलब्ध गराइएको छ। व्यक्तिको नाम, थर वा ठेगाना सुधार गर्ने, एउटै वडाभित्र मतदान स्थल परिवर्तन गर्ने, नागरिकता अनुसार विवरण मिलाउने, दोहोरो नाम हटाउने तथा मृत्यु वा बसाइँसराइका कारण अद्यावधिक गर्नुपर्ने विवरणहरू समेत अब अनलाइनबाटै सच्याउन  सकिने आयोगले जनाएको छ।   

 

प्रकाशित: १८ चैत्र २०८२ १६:२१ बुधबार