वडाध्यक्षलाई आफ्नो खुट्टा मालिस गर्न लगाएको भिडियो सार्वजनिक भएपछि देशभर आलोचित बनेका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्।
कार्यकालभरि विभिन्न विवाद र आलोचित गतिविधिका कारण चर्चामा रहेका चौधरीको राजीनामा मंगलबार बसेको कार्यपालिका बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।
नेकपा (एमाले) बाट निर्वाचित अध्यक्ष चौधरीले गत कात्तिक ५ गते नै उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका थिए।
‘म दिनानाथ चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु,’ राजीनामा पत्रमा उल्लेख छ।
उनले पदमा आवश्यक दक्षता, समय र ऊर्जा दिन नसकेको महसुस गरेकाले स्वेच्छाले राजीनामा दिएको पत्रमा खुलाएका छन्।
विवादको श्रृंखला: मदिरा सेवनदेखि खुट्टा मालिससम्म
अध्यक्ष चौधरीको कार्यकाल सुरुदेखि नै विवादित रह्यो। उनीमाथि पटक-पटक मदिरा सेवन गरी कार्यालयमा होहल्ला गर्ने र जनप्रतिनिधिमाथि हुकुमी शासन चलाएको गम्भीर आरोप लाग्दै आएको थियो।
विवादको उत्कर्ष भने गत असोज ५ गते देखियो। उनले वडा नम्बर-५ का कार्यवाहक वडाध्यक्ष हरि खंगलाई आफ्नो खुट्टा मालिस गर्न लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो।
गाउँपालिकास्थित उपाध्यक्षको कार्यकक्षको सोफामा पल्टिएका अध्यक्ष चौधरीको खुट्टा वडाध्यक्ष खंगले दबाइरहेको दृश्यले धेरैले उनको कार्यशैलीमाथि प्रश्न उठाए।
कानुनतः असार १० भित्रै सम्पन्न गरिसक्नुपर्ने गाउँसभा जनप्रतिनिधिबीचको विवाद र विशेषगरी अध्यक्ष चौधरीको व्यवहारका कारण पटक-पटक स्थगित हुँदै आएको थियो।
असोज ५ गते सभाका लागि बोलाइएको दिन पनि उनी मदिराले मातिएर कार्यालय पुगेको र वडाध्यक्षहरूसँगको नोकझोकपछि सभा नगर्ने अडान लिएर सोफामा पल्टिएका थिए।
गाउँसभा नहुँदा जनप्रतिनिधि तथा कर्मचारीहरूले दशैंको तलब-भत्तासमेत नपाउने अवस्था सिर्जना भएपछि, अन्य वडाध्यक्षहरूको आग्रहमा अध्यक्षसँग राम्रो सम्बन्ध भएका खंगले उनलाई फकाउन खुट्टा मालिस गरिदिएका थिए।
त्यसपछि मात्र सोही दिन तनावपूर्ण अवस्थामा गाउँसभा सम्पन्न भएको थियो। यसअघि भदौ १० मा बोलाइएको गाउँसभा पनि अध्यक्ष चौधरी मदिरा सेवन गरेर कार्यालयमा आई होहल्ला गरेपछि स्थगित भएको थियो।
पालिकामा एमालेबाट निर्वाचित अध्यक्ष चौधरी र नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष कल्पना चौधरीबीच सुरुदेखि नै असमझदारी रहँदै आएको थियो। जसकारण पनि पालिकाको विकास निर्माण र प्रशासनिक काम कारबाहीलाई समेत प्रभावित पारेको थियो।
आफ्नो राजीनामा पत्रमा भने चौधरीले लेखेका छन्, ‘गाउँपालिका अध्यक्षको हैसियतले पाएको अनुभवलाई म जीवनको महत्त्वपूर्ण उपलब्धि ठान्दछु। भविष्यमा पनि समाज र गाउँको सेवामा आफूलाई निरन्तर समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
उनको राजीनामा स्वीकृत भएसँगै अब गाउँपालिकाको नेतृत्व उपाध्यक्ष चौधरीले सम्हाल्नेछिन्।
प्रकाशित: १८ कार्तिक २०८२ २२:०४ मंगलबार