नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं प्रतिनिधिसभा सदस्य वर्षमान पुनले विपद्का बेला उद्धार तथा राहतका लागि प्रयोग हुनुपर्ने हेलिकोप्टर मन्त्रीको व्यक्तिगत प्रयोजनमा दुरुपयोग गरिएको बताउँदै सरकारको विरोध गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै पुनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई आफ्ना मन्त्रीहरूलाई नियन्त्रणमा राख्न आग्रह गरे।
उनले अहिले मुलुकका विभिन्न क्षेत्रमा बाढीपहिरोको विपद् व्यवस्थापन, राहत, उद्धार र पुनःस्थापनामा प्रयोग हुनुपर्ने हेलिकप्टर मन्त्रीहरुको जिल्ला भ्रमणमा प्रयोग भइरहेकामा आपत्ति जनाए।
जाजरकोट, रोल्पा, बागलुङलगायत जिल्लाका बाढीपहिरो प्रभावित क्षेतमा अझै पर्याप्त उद्धार र पुनःस्थापनाको काम अघि बढ्न नसकेका बेला मन्त्रीलाई रुघा लाग्दा हेलिकप्टर प्रयोग गरिनु आपत्तिजनक रहेको उनको भनाइ थियो।
‘एकातिर विपद् छ, रेस्क्यु गर्नुपर्ने छ, राहत पुर्याउनुपर्ने छ। अर्कातिर एक जनामन्त्री भ्रमणमा जानुहुन्छ, रुघाखोकी लाग्छ अनि हेलिकोप्टर पठाइन्छ,’ उनले भने, ‘रेस्क्युमा काम हुँदैन, पुनःस्थापनाका लागि काम हुँदैन, त्यहाँ पुर्याउनुपर्ने सामग्री पुग्दैनन् र मन्त्रीलाई सेनाको स्काई ट्रकबाट काठमाण्डु ल्याइन्छ र, के भयो भन्दा घरमा आराम गर्दै हुनुहुन्छ’, पुनले भने, ‘यस्तो गैरजिम्मेवार ढंगले राज्य चल्न सभामुख महोदय ? यसतर्फ म सम्माननीय सभामुखज्यूमार्फत प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु। आफ्ना मन्त्रीज्यूहरुलाई कन्ट्रोल गर्नुस्, नियन्त्रण गर्नुस्।’
सुदूरपश्चिमका पहाडी जिल्ला भ्रमणमा गएका बेला रुघाखोकी र ज्वरो आएपछि मन्त्री लम्साल केही दिनअघि सेनाको स्काई ट्रक बोलाएर काठमाडाैं फर्किएका थिए।
पुनले जनप्रतिनिहरु जनतामा जानु राम्रो भए पनि विपदको समयमा काम गर्न छाडेर गृह जिल्ला गोरखा गएका गृहमन्त्री सुधन गुरुङले आफ्ना मतदातालाई भोट फिर्ता लिन धम्की दिएकामा आपत्ति जनाए।
चुनावका बेला गरेका बाचा मतदाताले सम्झाउँदा मन्त्रीले धम्की दिन नमिल्ने बताए। ‘गृहमन्त्री आफ्नै निर्वाचन क्षेत्रमा गइराख्नुभएको छ। राम्रो कुरा हो, जनप्रतिनिधि निर्वाचन क्षेत्रमा जानु, मतदाताकोमा जानु’, उनले भने, ‘मतदाताले आफ्नो विगतका प्रतिबद्धताको जवाफ खोज्छन्। उहाँले आफ्नो मत फिर्ता लानुस् भनिराख्नुभएको छ। तर, हामीले यहाँ गृहमन्त्रीलाई खोज्दैछौं।’
विपद् प्रतिकार्य, रेस्क्यु के भए, पुनःनिर्माण र पुनर्स्थापनाका लागि भए/गरेका काम तथा राहत सामग्री कसरी पुर्याइएको छ भन्नेबारे गृहमन्त्री गुरुङले सदनलाई जानकारी दिनुपर्ने माग उनले राखे। पुनले त्यसका लागि गृहमन्त्री गुरुङलाई रुलिङ गर्न सभामुखसँग माग गरे।
विपद्पछिको पुनःनिर्माणका लागि भौगर्भिक अध्ययन टोली पठाएर जोखिमयुक्त स्थानका बस्तीलाई उपयुक्त ठाउँमा स्थानान्तरण गर्ने स्पष्ट योजना बनाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा विपद् उद्धार तथा राहतका लागि सुर्खेतलाई केन्द्र बनाएर हेलिकोप्टर र अन्य साधन राखिएको उल्लेख गर्दै पुनले ती साधनको प्रभावकारी उपयोग हुन नसकेको औंल्याए।
प्रकाशित: २ भाद्र २०८३ १६:२५ मंगलबार